काठमाडौं, चैत ८ – गत वर्ष सार्वजनिक भएको आइफोन–१२ को बक्समा चार्जर नभएका कारण एप्पलमाथि १९ लाख अमेरिकी डलर जरिवाना लागेको छ। एप्पल इन्साइडरका अनुसार ब्राजिलको उपभोक्ता संरक्षण नियामक कम्पनी प्रोकन–एसपीले ब्राजिलमा चार्जर बिना आइफोन–१२ बेचेको विरुद्धमा एप्पललाई जरिवाना लगाएको हो।
डिसेम्बरमा प्रोकन–एसपीले एप्पललाई ब्राजिलभित्र आइफोन–१२ सँग चार्जर पनि प्रदान गर्न अनुरोध गरेको थियो तर महिनौँसम्म एप्पलले त्यसमा कुनै प्रतिक्रिया दिएन। आफ्ना प्रयोगकर्तालाई चार्जर दिन नसक्नुको कारण विस्तृतमा खुलाउन नसकेकाले ब्राजिलियन नियामक कम्पनीले एप्पललाई यहीँ मार्च १९ मा ठूलो रकम तिर्न लगाएको छ।
एप्पलले आफ्ना उपकरणबारे दिएको विज्ञापनमा झुटो कुरा फैलाएको र उपकरणहरु त्रुटीसहित बेचेको आरोपमा पनि ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलरको जरिवाना लगाएको एप्पल इन्साइडरले लेखेको छ। प्रोकन–एसपीका कार्यकारी निर्देशक फर्नांडो कापेजले भनेका छन्, ‘एप्पलले ब्राजिलमा कडा उपभोक्ता संरक्षण कानुन र संस्थाहरु छ भनेर बुझ्न र तिनलाई सम्मान गर्न आवश्यक छ।’
एप्पलले वातावरण संरक्षणको लागि गत वर्षबाट आफ्ना उपकरणहरुमा चार्जर नराख्ने घोषणा गरेको थियो, तर ब्राजिल एप्पलको यस वर्णनबाट सन्तुष्ट नभएको एप्पल इन्साइडरले जानकारी दिएको छ।प्रयोगकर्ताले गरेका उजुरीमध्ये एप्पलले उपभोक्तासँग गर्ने सम्झौता पूरा गर्न नसकेको, आफ्ना वारेन्टी अन्तर्गत उपकरणहरु मर्मत नगरेको र आइफोन पानी प्रतिरोधपनि नभएको आरोप छ।
एप्पलले आफ्ना यी समस्या सुधारेर प्रयोगकर्ताका मागअनुसार परिवर्तन नल्याएमा ब्राजिलको नियामक कम्पनीले यो मुद्दा अदालतसम्म पुर्याउने बताएको छ।
FACEBOOK COMMENTS