काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई लक्षित गर्दै सरकार व्यवसायमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले अब व्यवसाय सञ्चालनका क्रममा घुस खुवाउनुपर्ने, अनावश्यक लाइन बस्नुपर्ने तथा सामान्य विषयमा थुनिनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
उहाँले आफू पदमा व्यक्तिगत लाभका लागि नभई देशको अर्थतन्त्रलाई नयाँ दिशातर्फ अघि बढाउन आएको उल्लेख गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइने स्पष्ट पारे । “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न,” उनले भने, “अर्थतन्त्रको दिशा परिवर्तन गर्दै देशलाई नयाँ गतिमा अघि बढाउनु मेरो प्राथमिकता हो।”
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको ‘सहयात्री’ का रूपमा व्याख्या गर्दै लगानी विस्तार र रोजगारी सिर्जनामा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। “निजी क्षेत्रले अब अनावश्यक दु:ख भोग्नुपर्दैन। लगानी बढाउनुस्, रोजगारी सिर्जना गर्नुस् र देश निर्माणमा सहकार्य गरौं,” उनले भने।
नीतिगत सुधारतर्फ संकेत गर्दै उहाँले आर्थिक कसुरका विषयमा दण्डात्मक दृष्टिकोणमा परिवर्तन गरिने जानकारी दिनुभयो। सामान्य आर्थिक अनियमिततामा जेल सजायभन्दा आर्थिक जरिवानालाई प्राथमिकता दिने नीति अपनाइने उहाँको भनाइ थियो। “उद्योगी–व्यापारी साना विषयमा थुनिनुपर्ने अवस्था अन्त्य हुन्छ,” उहाँले स्पष्ट पारे।

तर, राज्यले सहजीकरणको भूमिका खेल्दा निजी क्षेत्र पनि उत्तिकै जिम्मेवार र इमानदार हुनुपर्नेमा उहाँले जोड दिनुभयो। नियोजित आर्थिक बेइमानीप्रति भने सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।
अर्थमन्त्रीको यो अभिव्यक्तिले सरकारी संयन्त्र र निजी क्षेत्रबीच सहकार्यको नयाँ आधार निर्माण गर्ने तथा लगानीमैत्री वातावरण सुदृढ बनाउने संकेत दिएको छ।

