काठमाडौं । आज देखि मंसिर सुरु भइसकेको छ । मंसिर भनेको बिहेको सिजन हो र यो समयमा प्रायः सुनको मूल्य बढ्ने गर्छ, यद्यपि तिहारपछि लगातार सुनको मूल्यमा गिरावट आएको छ ।
यद्यपि सुनको मूल्यमा नेपाली बजार भन्दा पनि अन्तर्राष्ट्रिय बजारले प्रभाव पार्ने गर्दछ ।
सुनको मूल्य बढ्दा होस् वा घट्दा जनचासो बढ्ने गर्दछ । किनकि कतिपयले सुनमा लगानी गरिरहेका हुन्छन् र गर्ने योजना बनाएका हुन्छन् । त्यसैले सुनको मूल्य कतिसम्म बढ्छ वा कतिसम्म घट्छ भनेर चासो बढ्नु स्वाभाविक पनि हो ।
वि. सं. २०८२ माघमा अर्थात सन् २०२६ को जनवरीतिर सुनको मूल्य प्रतिऔंस ५ हजार ४०० डलरसम्म पुगेर ऐतिहासिक उच्च बिन्दुमा पुगेको थियो ।
र अहिले सुनको मूल्य घटेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ८६० डलरको आसपास झरेको छ ।

रुस–युक्रेन युद्ध र मध्यपूर्वमा बढ्दो तनावको समयमा सुरक्षित लगानीको विकल्पका रूपमा सुनको माग बढेको थियो । यद्यपि अहिले भने अन्तर्राष्ट्रिय बजारको आर्थिक तथा मौद्रिक परिस्थितिमा आएको परिवर्तनले सुनको मूल्य निरन्तर घटिरहेको छ ।

किन घटिरहेको छ मूल्य ?

सामान्यतया भूराजनीतिक तनाव वा आर्थिक अनिश्चितताको समयमा सुनमा लगानी गर्नुलाई सबैभन्दा सुरक्षित र भरपर्दो लगानी मानिन्छ।

तर, पछिल्लो समय मध्यपूर्वको तनावले तेलको मूल्य बढाए पनि लगानीकर्ताहरूले परम्परागत रूपमा सुनतर्फ होइन, अमेरिकी डलर र नगद तरलतातर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन्। विश्व बजारमा डलरको माग अत्यधिक बढेका कारण सुनको मूल्य केही हदसम्म घट्न सक्ने जानकारहरू बताउँछन् ।
अमेरिकी डलरको सूचकाङ्क हालैका महिनाहरूमा वर्षकै उच्च बिन्दुमा पुगेको छ। डलर बलियो हुँदा अन्तर्राष्ट्रिय बजारमा डलरमा मूल्य चुकाएर सुन किन्ने लगानीकर्ताहरूका लागि लागत बढ्छ, जसले गर्दा सुनको आकर्षण घटेर मूल्यमा दबाब सिर्जना हुन्छ ।
अमेरिकामा मुद्रास्फीति अपेक्षाहरूभन्दा केही उच्च देखिएपछि अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समयसम्म उच्च राख्ने वा थप बढाउने सङ्केत दिएको छ। ब्याजदर बढ्दा सुरक्षित लगानीको रूपमा ट्रेजरी बन्डमा प्रतिफल राम्रो पाइने हुनाले लगानीकर्ताहरू सुनबाट बाहिरिएर बैंक तथा बन्डतर्फ आकर्षित भएका छन्। यो पनि अर्को कारण हो ।
विगतका वर्षहरूमा न्यून मूल्यमा सुन थुपारेका ठूला कर्पोरेट तथा संस्थागत लगानीकर्ताहरूले मूल्य बढेपछि अहिलेको उच्च मूल्यलाई आफ्नो लगानी उठाउने उपयुक्त अवसरको रूपमा उपयोग गरिरहेका छन्।
यसरी बेच्नेको चाप बढेकाले पनि मूल्यमा गिरावट आएको जनाइएको छ । वर्ल्ड गोल्ड काउन्सिलको तथ्याङ्कले देखाए अनुसार अक्टोबर र सेप्टेम्बर महिनामा मात्रै अर्बौं डलर बराबरको सुनको पोजिसन घट्नुले ठूला लगानीकर्ताहरू सुनको बजारबाट बाहिरिँदै गरेको सङ्केत पनि देखिएको छ ।
जब ठूला फन्डहरूले आफ्नो लगानी घटाउँछन्, तब बजारमा कृत्रिम नभई वास्तविक मागको कमी हुन जान्छ र मूल्य तीव्र रूपमा तल झर्ने गरेको विज्ञहरू बताउँछन् ।
सन् २०१३ को इतिहास दोहोरिँदैछ ?
सन् २०१३ मा सुनको मूल्य उच्च बिन्दुबाट तीव्र रूपमा ओरालो लागेको थियो। त्यसबेला पनि बजारमा केही समयका लागि सामान्य सुधार देखिएको थियो तर २०१३ अन्त्यमा भने सुनको मूल्यमा पहिरो नै गयो ।
अहिलेको बजारको अवस्थामा पनि ठ्याक्कै उही नियति दोहोरिने सङ्केत देखिएको छ ।
बजारमा केही समयको सामान्य सुधारपछि पुनः तीव्र गिरावटको सुरुआत भएको हो ।
यदि यही प्रवृत्ति कायम रहेमा सुनको मूल्य अझै घटेर प्रतिऔंस ३,५०० अमेरिकी डलरको आसपाससम्म झर्न सक्ने आकलन गरिएको छ।
अक्टोबर २०१२ को उच्च बिन्दुबाट ओरालो लाग्दै आएको सुनको मूल्य २०१३ फेब्रुअरी २१ मा १५५५.०६ डलरको न्यून बिन्दुमा पुग्यो ।
यसपछि मूल्य बढ्न थाल्यो र यो सुधार लगातार एक महिनासम्म चल्यो। मार्च २१ मा आइपुग्दा मूल्य १६१६.४७ डलरमा पुगेको थियो ।
अप्रिल ११ मा १५६१.०९ डलरमा रहेको सुनको मूल्य पाँच दिनपछि अप्रिल १६ मा १३२१.५४ डलरमा ह्वात्तै झरेको थियो ।
नेपाली बजारमा परेको प्रभाव
अन्तर्राष्ट्रिय बजारमा आएको यो गिरावटले नेपाली सुनचाँदी बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । तिहारपछि कात्तिक २७ गते १२ हजार ६०० ले सुनको मूल्य घटेर प्रतितोलाको २ लाख ७१ हजार ७ सयमा झरेको थियो । जबकि तिहार भन्दा अगाडि कात्तिक २२ गते प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो । त्यसपछि सुनको मूल्यमा लगातार गिरावट आएको छ ।
त्यसपछि कात्तिक २९ गते पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँमा किनबेच भयो ।
त्यसैगरी कात्तिक ३० गते १ हजार १ सय रुपैयाँ घटेर २ लाख ६९ हजार एक सयमा कारोबार भएको थियो भने मंसिर महिनाको पहिलो कारोबार दिन एक गते पनि १ हजार नौ सयले मूल्य घटेर २ लाख ६७ हजार दुई सयमा
झरेको छ ।
लगातार मूल्य खस्किँदा एकातिर विवाहको सिजनमा गहना किन्न चाहने आम उपभोक्तालाई राहत दिएको छ भने अर्कोतर्फ उच्च मूल्यमा सुन खरिद गरेका लगानीकर्ताहरू चिन्तित बनेका छन्।
तत्कालै बजारले पूर्ववत् उच्च रेकर्डतर्फ फर्किने सम्भावना कम देखिएकाले लगानीकर्ताहरूलाई एकैपटक ठूलो रकम लगानी गर्नुको सट्टा किस्ताबन्दी वा चरणबद्ध रूपमा खरिद गर्ने नीति अपनाउन विज्ञहरू सुझाव दिएका छन् ।