काठमाडौं, बैशाख २८- लकडाउन केहि खुकुलो बनाउने सरकारको निर्णयसँगै उपत्यकामा सवारी साधनहरु केहि मात्रामा चल्न थालेका छन् । सरकारले अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीलाई पासको व्यवस्था गरेसँगै उपत्यकामा सवारीको चाप पनि पहिलेको भन्दा केहि बढ्न गएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा आइतबारदेखि निश्चित समयमा मात्र सवारी साधन चलाउन पाइने बताएको छ । यसका लागि महाशाखाले ‘टाइम कार्ड’ लागु गरेको छ । महाशाखाले जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने ‘टाइम कार्ड’, लागू गरेको हो ।
ट्राफिक प्रहरी महाशाखाको अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जाने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कने समय तोकिएको छ ।
यस्तै, निर्माण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ ।
औषधि र खानेपानीको सवारी साधानको हकमा भने समय निर्धाण गरिएको छैन ।
FACEBOOK COMMENTS