काठमाडौं, पुस २६ – नेपाल चलचित्र कलाकार संघ (फान) ले कलंकीको स्यूचाटारमा निर्माण गर्न लागेको आफ्नै भवनका लागि भवन निर्माण मूल समिति गठन गरेको छ ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दिनु भएको जानकारी अनुसार संघको केन्द्रिय कार्यसमितिको बैठकले वर्तमान संरक्षक वरिष्ठ कलाकार हरिबंश आचार्यको संयोजकत्वमा भवन निर्माण मूल समिति गठन गरिएको हो ।
वर्तमान केन्द्रिय अध्यक्ष सह–संयोजक रहने मूल समितिमा पूर्व संरक्षक, पूर्व केन्द्रिय अध्यक्षहरु, सल्लाहकारहरु, कानूनी सल्लाहकारहरु, वर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरु, संघको अमेरिका, बेलायत तथा प्रदेश १ शाखा आदिलाई समेटेर मूल समिति गठन गर्ने सर्वसम्मत निर्णय भएको छ ।
अध्यक्ष खड्काका अनुसार उत्तस् समितिमा प्राविधिक, व्यवसायी, उद्योगपति आदिलाई पनि समावेश गरेर मूल समिति गठन गर्ने निर्णय भएको हो ।
बैठकले चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय तथा नेपाल सरकारसंग समन्वय तथा सहमति सम्झौता गर्न/गराउन ‘भवन निर्माण कार्य सम्पादन समिति’ पनि गठन गरेको छ ।
उक्त समितिमा अध्यक्ष रविन्द्र खड्का संयोजक, सल्लाहकार मदु कुमार श्रेष्ठ सह–संयोजक तथा सुनिल कटुवाललाई कोषाध्यक्षमा मनोनयन गरिएको छ ।
उक्त समितिका थप सदस्यहरु,आमन्त्रित सदस्य प्राविधिक/सल्लाहकार चयन गर्ने सम्पूर्ण जिम्मेवारी वर्तमान अध्यक्षलाई नै दिइएको छ ।
अध्यक्ष खड्काले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट प्राप्त हुने ५० लाख रुपैयाँ रकमका लागि वर्तमान नेपाल सरकार, चलचित्र विकाश बोर्ड, सञ्चार मन्त्रालयप्रति आभार प्रकट गर्दै चन्द्रागिरी-१३ स्थित स्यूचाटार, पुरानो नैकाप, थानेटारमा निर्माण हुन लागेको चलचित्र कलाकार संघको भवनका लागि देश विदेशमा रहने चलचित्रकर्मी, दाता, सहयोगीको साथ र सहयोगबाट ६ महिना भित्रमा साढे ३ तल्लाको भवन निर्माण हुने बताएका छन् ।
FACEBOOK COMMENTS