काठमाडौं, माघ ६ – कोरोना खोपका लागि आवश्यक ४९ अर्ब रुपैयाँमध्ये ४० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता भएको छ । खोपका लागि स्वास्थ्य मन्त्रालयले ६० अर्ब रुपैयाँ माग गरे पनि अर्थले ४९ अर्ब रुपैयाँ व्यवस्थापन गर्नुपर्ने अनुमान लगाएको हो । त्यसमा ४० अर्बको टुंगो लागिसकेको अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए ।
उनले भने, “विकास साझेदार तथा द्विपक्षीय सहायताबाट ४० अर्ब रुपैयाँ ऋण तथा अनुदान उपलब्ध हुने टुंगो लागेको छ । आवश्यक जति रकम हो, मन्त्रालय व्यवस्थापन गर्न तयार छ ।” स्वास्थ्यले भने प्रतिखोप ९ डलरका हिसाबले सबैलाई लगाउने व्यवस्था गर्न ६० अर्ब रुपैयाँ माग गरेको छ । जसमध्ये बजेटमा उल्लेखित स्रोतबाटै ४० अर्ब टुंगो लगाइएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले विभिन्न मञ्चमा आमनेपाली नागरिकलाई निःशुल्क खोपको व्यवस्था गरिने उद्घोष गरिरहेका छन् । त्यसो भए, स्वास्थ्य मन्त्रालयले किन गर्यो खोप कोषमा सहयोगको याचना ? सम्पूर्ण नागरिकलाई निःशुल्क खोप लगाइदिने प्रतिबद्धता गरेको सरकारले एक साताअघि खोप कोषमा आर्थिक सहयोगको अपिल गर्यो । सूचनामा सरकारले लक्षित समूहलाई मात्र निःशुल्क खोप दिने अभिप्राय रहेको सन्देश दिइयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान गरेको छ ।
FACEBOOK COMMENTS