काठमाडौं । नेपालमा आधुनिक बैंकिङ सेवाको सुरूवात गर्दै वि.स. २०४१ सालमा स्थापना भएको नबिल बैंक नेपालकै पहिलो निजी वाणिज्य बैंक हो ।
संयुक्त लगानी बैंकको रूपमा स्थापना भएको यो बैंकले नै पहिलोपटक नेपालमा कम्प्युटराइज्ड बैंकिङ सेवाको सुरुवात गरी नेपालको बैंकिङ इतिहासमा नयाँ आयाम सुरू गरेको थियो । त्यही बिरासतलाई आत्मसाथ गर्दै बैंकले आफ्नो सेवाको गुणस्तर, कार्यक्षमता र नवप्रवर्तनमा नयाँ मापदण्ड समेत स्थापित गर्दै अघि बढिरहेको छ ।
नेपालको बैंकिङ रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै स्थापना भएको यो बैंकको नाम सुरूमा नेपाल अरब बैंक थियो, पछि परिवर्तन गरेर नबिल बैंक बनाइएको हो । स्थापनाको चार दशक पार गरिसकेको यो बैंकले हाल वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन र प्राथमिकताप्राप्त क्षेत्रहरूमा लगानी गर्दै नेपालको समग्र बैंकिङ क्षेत्रको नेतृत्व समेत गर्दै आएको छ । गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन र राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्याउनुलगायत नबिल बैंकका प्रमुख उपलब्धिहरू हुन् ।
आधुनिक बैंकिङको प्रवर्तक हो नबिल
जतिबेला नबिल बैंक स्थापना भयो त्यतिबेलासम्म नेपालमा सरकारी स्वामित्वका बैंकहरू मात्रै प्रमुख रूपमा सक्रिय थिए भने निजी क्षेत्रको सहभागिता अत्यन्तै कम थियो । विदेशी संयुक्त लगानीमार्फत स्थापना भएको नबिल बैंकले निजी क्षेत्रको बैंकिङ अभ्यासलाई संस्थागत गर्दै आधुनिक बैंकिङ सेवा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।

स्थापनापछि बैंकले अन्तर्राष्ट्रियस्तरका बैंकिङ सेवा, एटीएम सुविधा, भिसा कार्ड सेवा, ट्रेड फाइनान्स र रेमिट्यान्स प्रणाली जस्ता नवीन अभ्यास नेपालमा विस्तार गर्यो । यसले ग्राहक–केन्द्रित सेवा प्रणालीलाई प्राथमिकता दिँदै बैंकिङ क्षेत्रमा नयाँ मानक स्थापित गर्यो ।

शाखा विस्तार र डिजिटल रूपान्तरण

काठमाडौं उपत्यकाबाट सेवा विस्तार गर्दै बैंकले हाल देशव्यापीरूपमा शाखा सञ्जाल विस्तार गरिसकेको छ । देशभर २६८ वटा शाखा र ३२१ वटा एटीटएम बुथमार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको छ । एक दर्जन भन्दा बढी निक्षेप योजनाहरू ग्राहकमाझ ल्याएको बैंकले कर्जा प्रवाह प्रणालीलाई समेत सरल र सहज बनाएको छ ।
पछिल्ला वर्षहरूमा बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी प्रणाली तथा ‘निओ बैंक’ सेवा सञ्चालनमा ल्याएको छ । यसमार्फत बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सहज र छरितो बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । एनबैंक एप जस्ता डिजिटल प्लेटफर्ममार्फत समय, दूरी र लागत घटाउँदै सेवाबाट वञ्चित समुदायसम्म बैंकिङ सेवा विस्तार गर्न सहयोग पुर्याएको छ ।
पूँजी सुदृढीकरण र विस्तार
निकै सबल र बलियो मानिएको तत्कालीन नेपाल बंगलादेश बैंकलाई एक्विजिशन गरेर ठूलो वित्तीय योगदान हासिल गरेको यो बैंकले अग्राधिकार शेयर जारी गरेर समेत आफ्नो पुँजी वृद्धि गर्नुका साथै आफ्नो पूँजी आधार र बजार विस्तारलाई थप मजबुत बनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वाणिज्य बैंकको अनुमतिप्राप्त यस संस्थाले खुद्रा, कर्पोरेट, साना तथा मझौला उद्यम (एसएमई) र इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा समेत सक्रिय उपस्थिति जनाएको छ ।
पूर्वाधार विकास र रोजगारी सृजनामा योगदान
चार दशकभन्दा बढीको यात्रामा नबिल बैंक नेपालकै विश्वसनीय र अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित भएको छ । साथै नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा उल्लेख्य लगानी गर्दै आएको यो बैंक राष्ट्रिय अर्थतन्त्रको प्रमुख उत्प्रेरकका रूपमा कहलिँदै आएको छ । सन् १९९८ मा जलविद्युत् क्षेत्रमा पहिलोपटक लगानी गरेर उच्च साहस प्रदर्शन गरेको बैंकले हाल ऊर्जा क्षेत्रमा मात्रै करिब ७५ अर्ब रुपैयाँ लगानी गरेको छ । उक्त लगानीका कारण कूल तीन हजार १०० मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् परियोजनाले वित्तीय सहयोग प्राप्त गर्न पाएका छन् ।
निजी क्षेत्रको बैंकिङ अभ्यासलाई सुदृढ बनाउँदै आधुनिक, प्रविधिमैत्री र ग्राहक–केन्द्रित सेवा विस्तार गर्नुको अलावा बैंकले मुलुकको कर प्रणालीमा पनि ठूलो योगदान पुर्याउँदै आएको छ । राष्ट्रिय राजस्वमा बलियो योगदान पुर्याएको भन्दै सरकारले नबिल बैंकलाई सर्वाधिक आठ पटक सम्मान समेत गरिसकेको छ । यसका साथै पारदर्शिता, सुशासन तथा औपचारिक अर्थतन्त्रको विकासमा योगदान पुर्याएबात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पनि नबिल बैंकले प्राप्त गरेको छ ।
यसैगरी सामाजिक उत्तरदायित्वअन्र्तगत विपद् प्रतिक्रिया, शिक्षा, स्वास्थ्य तथा वित्तीय साक्षरतामा योगदान गर्दै आएको बैंकले नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिपमार्फत १९३ उद्यमलाई सहयोग गर्दै १७ हजार भन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।