काठमाडौं । एमएडब्लू राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिबल २०२६ मा उक्त कलरको यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको हो ।

नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य यसअघि उपलब्ध कालो भेरियन्टकै बराबर हो । नयाँ रङ सार्वजनिक भएसँगै यामाहा एक्सएसआर १५५ अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध भएको छ ।
नेपाल र जापानबीचको लामो मित्रता तथा यामाहाको जापानी विरासतलाई जोड्ने उद्देश्यले नयाँ भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । दशकौँदेखिको सांस्कृतिक आदानप्रदान, प्रविधि तथा विकासमा सहकार्य र आपसी सम्मानले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ । जापानी इन्जिनियरिङको लामो इतिहास बोकेको यामाहाले पनि यी साझा मूल्यलाई प्रतिनिधित्व गर्दै आएको कम्पनीको भनाइ छ ।



कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्ण्ॉ कुमार अग्रवालले नेपाल र जापानबीचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्त्वबारे चर्चा गरे । उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई समेत स्मरण गरे ।

अग्रवालले प्रविधि, पूर्वाधार तथा विकासका विभिन्न क्षेत्रमा जापानले नेपाललाई पुर्याउँदै आएको योगदानको चर्चा गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतीकका रूपमा उल्लेख गरे ।

एमएडब्लू ग्रुप नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै उनले यामाहा एक्सएसआर १५५ ले जापानी विरासत, आधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गर्ने धारणा व्यक्त गरे । दुई देशबीचको ऐतिहासिक सम्बन्धको उत्सवका अवसरमा नयाँ भेरियन्ट सार्वजनिक गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

फेस्टिबलमा प्रस्तुत परम्परागत जापानी कोटो संगीत, ताइको ड्रम, जापानी क्यालिग्राफी, कस्प्ले तथा विभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । ती प्रस्तुतिले जापानको समृद्ध सांस्कृतिक पहिचान झल्काउनुका साथै यामाहाको जापानी विरासत र पहिचानसँग पनि सम्बन्ध स्थापित गरेका थिए ।
रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यामाहा एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्टुएसन (भीभीए) इन्जिन, डेल्टा बक्स फ्रेम, ६–स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता विशेषता रहेका छन् ।
यी प्रविधिले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ । नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक भएसँगै ग्राहकले आफ्नो रुचि र शैलीअनुसार थप विकल्प पाउनेछन् ।