काठमाडौँ । टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ ।
स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र उनीहरूको आवागमन सहज बनाउने उद्देश्यले यो पहल गरिएको हो । हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई पाँच वटा र जिल्ला प्रहरी कार्यालय रसुवालाई पाँच वटा प्रदान गरिएको हो ।

यस्तै, विदुर नगरपालिकालाई दुई वटा तथा नुवाकोट केन्द्रीय कारागार, त्रिशूली अस्पताल, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यालयलाई एक–एक वटा मोटरसाइकल दिइएको छ । आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई पनि एक–एक वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना तथा पुनरुत्थानमा योगदान पुर्याउने लक्ष्य राखेका छन् । स्थानीय संस्थाहरूलाई आवश्यक आवागमन सुविधामा सहयोग पुग्दा उनीहरूले समुदायलाई प्रदान गर्ने सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसले व्यावसायिक गतिविधिभन्दा बाहिर रहेर पनि नेपालका समुदायको हित र विकासमा योगदान पुर्याउने दुवै कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।

‘नेपाल टीभीएस मोटर कम्पनीका लागि एक महत्वपूर्ण बजार हो । हामीले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ,’ टीभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस प्रेसिडेन्ट पेयमान कार्गरले भने, ‘विभिन्न संस्थाहरूलाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने आशा गरेका छौँ ।’
