काठमाडौं । ठमेलस्थित छायाँदेवी कम्प्लेक्स रहेको जग्गालाई लिएर उठाइएका प्रश्नहरू कानुनी र तथ्यगत रूपमा निरर्थक रहेको पुष्टि भएको छ ।
मालपोत कार्यालय डिल्लीबजारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा पठाएका पत्रका विवरणले उक्त जग्गाको मूल दर्ता प्रक्रिया रैतानी कायम हुँदै आएको तथा पछि फिल्डबुकमा ‘पोखरी’ उल्लेख भएकै आधारमा सरकारी नाममा समेत भुलवश स्रेस्ता कायम हुँदा दोहोरो अभिलेख बनेको तथ्य प्रष्टाएको थियो ।
२०७६ भदौ १९ गते अख्तियारलाई पठाएको पत्रमा मालपोत कार्यालयले साविक नगर २९, कित्ता नं. १६७ को जग्गाको कानुनी तथा दर्ता इतिहास स्पष्ट पारेको छ ।
गुठी लगत तथा तहसिल कार्यालयको २०३९ माघ २५ को पत्रअनुसार साविक कित्ता नं. १६७ मा केयुर शमशेर मोही कायम भएको, त्यसपछि २०४३ असार ६ गते कित्ताकाट हुँदा कित्ता नं. १६१८ कायम भई केयुर शमशेरकै नाममा बाँकी रहेको र उनको मृत्युपछि पत्नी अम्बिका देवी राणाको नाममा नामसारी भएको पत्रमा उल्लेख छ। मालपोतले अख्तियारलाई पठाएको पत्रले विवादको अर्को महत्वपूर्ण पक्षसमेत प्रस्ट पारेको छ ।
२०४३ सालमै कित्ताकाट भई पुरानो कित्ता नं. १६७ को अस्तित्व समाप्त भइसकेको अवस्थामा भूमि सुधार तथा व्यवस्था मन्त्रालयको २०४४ मंसिर २३ गतेको निर्णयअनुसार फिल्डबुकमा ‘पोखरी’ जनिएको आधारमा पहिले नै दर्ता भइसकेको जग्गा सरकारको नाममा समेत स्रेस्ता कायम हुँदा भुलवश स्रेस्ता कायम हुँदा दोहोरो बन्न पुगेको मालपोतले जनाएको छ ।

मालपोतको पत्रमा स्पष्ट रूपमा भनिएको छ, “मालपोत कार्यालयको स्रेस्तामा दर्ता भै सकेको जग्गा नापी फिल्डबुकमा पोखरी लेखिएको आधारमा सरकारको नाममा दर्ता गर्दा भुलवश दोहोरो श्रेस्ता कायम हुन गएको देखिन्छ ।”

यस्तै मालपोत कार्यालय डिल्लीबजारले मिति २०८१।०२।०१ मा श्री सर्वोच्च अदालतलाई पठाएको पत्रको बुँदा नं ४ को ब्यहोरा निम्न अनुसार रहेको छ, “सरकारी प्रकृतिका जग्गा श्री ५ को सरकारको नाममा दर्ता गर्नु भन्ने भुमि सुधार तथा व्यवस्था मन्त्रालयको मिति २०४४/०८/२३ को निर्णय अनुसार तत्कालिन श्री ५ को सरकारको नाममा दर्ता भएको देखिन्छ उक्त कि.नं. १६७ वि.सं. २०३९ मा यस कार्यालयमा गुठीको च.नं. २४३३ मिति २०३९/०२/२१ को पत्रानुसार दर्ता भई २०४१/०४/१५ को पत्रानुसार कि.नं. १६७ खारेज भै विभिन्न व्यक्तिहरुका नाममा कायम भइसकेको उक्त कि.नं. १६७ को अस्तित्व कायम रहे नरहेको सन्दर्भमा लुज सिटको आधारमा सरकारी श्रेष्ता कायम गर्दा पोखरी देखिएको कारण दोहोरो श्रेष्ता रहेको देखिन्छ ।

यस कार्यालयमा रहेको तथा हाल सम्मानित सर्वोच्च अदालतमा पेश गरिएको मिति २०४४/०८/२३ यस कार्यालयको निर्णय मिसिलमा “संलग्न लिष्टमा उल्लेख भएका जग्गा मध्ये पहिले दर्ता भई लुज सिटमा कट्टा गर्न बाँकी भएका छन्

भने प्रस्तुत विवरणमा दर्ता बाँकी भनि उल्लेख भएको हुनसक्ने र कुनै कित्ता दर्ता भईसकेको हो वा होइन भनी भिडान गर्न ज्यादै लामो समय लाग्ने सरकारी सार्वजनिक जग्गा दर्ता गर्न ढिलाई हुन जाने भएकोले पहिले दर्ता भई लुज सिटमा मात्र कट्टा गर्न बाँकी रहेको कारणले दर्ता बाँकी देखिन्छ भने यो आदेशबाट पुन: दर्ता हुन आएको देखिन आएमा मालपोत ऐन दफा ७ (३) बमोजिम दर्ता सच्चिने, पछिल्लो दर्ता लगत कट्टा समेत हुने गरी पेश भएको विवरण बमोजिमको जग्गा उपरोक्त अनुसार दर्ता गरि श्रेष्ता पुर्जा तयार गर्न फाईल मोठमा दिनु“ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । साथै कि.नं. १६७ को फिल्डबुक विवरणमा पोखरी जनिएको भए तापनि श्रेष्ताको किसिममी “ग“ उल्लेख भए अनुसार “सिम” प्रकृतिको जग्गा भएको देखिन्छ ।”
माथिका तथ्य तथा अभिलेखबाट माथिका तथ्य तथा अभिलेखबाट सम्बन्धित जग्गाको मुल बिषय सार्बजनिक थियो कि थिएन् भन्दापनि अभिलेखका कसरी भुलवश दोहोरो स्रेस्ता कायम भयो भन्ने बिषयमा केन्द्रित देखिन्छ ।
भुलवश दोहोरो स्रेस्ता कायम गर्ने निर्णयमै पहिले नै स्रेस्ता कायम भइसकेको अवस्थामा पछि कायम भएको स्रेस्ता पूर्णत: अमान्य हुने स्पष्ट उल्लेख गरिएको छ। यसबाट पहिलेदेखि कायम रहेको स्रेस्ता नै वैध रहेको र लुज सिटमा भूलवश कायम भएको अर्को विवरणले छुट्टै वैध स्रेस्ताको मान्यता नपाउने देखिन्छ । त्यसैले यसलाई कानुनी अर्थमा दोहोरो स्रेस्ता कायम भएको अवस्था नभई अभिलेखीय त्रुटिका कारण दोहोरो देखिन गएको पुष्टी हुन्छ।