काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आगामी मंसिर ६ गते आइतवार काठमाडौंको दरबारमार्गमा आयोजना हुन लागेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजनामा तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले दुई देशबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्ध र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
यही महोत्सवमा सहभागिता जनाउन जापानको चर्चित रक ब्यान्ड ‘गोडाइगो’ (न्इम्क्ष्भ्न्इ) ४६ वर्षपछि नेपाल फर्किने भएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान फेस्टिभल २०२६ : सोलिडारिटी थ्रु कल्चर’ मा प्रस्तुति दिन ब्यान्ड नेपाल आउन लागेको हो ।
आइतवार काठमाडौंको दरबारमार्गमा आयोजना हुने महोत्सवमा गोडाइगोले विशेष सांगीतिक प्रस्तुति दिनेछ । यसअघि ब्यान्डले सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक सांगीतिक कार्यक्रम गरेको थियो । त्यसको ४६ वर्षपछि पुन: काठमाडौंमा प्रस्तुति दिन लागेकाले यसलाई नेपाल–जापान सांस्कृतिक सम्बन्धको महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ ।
महोत्सवमा जापानका अग्रणी हिपहप कलाकार मम्मी–डी (:गmmथ–म्) पनि विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । उनीसँगै नेपालका चर्चित कलाकारहरूले समेत सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।
नेपाल–जापान फेस्टिभल २०२६ आयोजक समितिको आयोजनामा हुने महोत्सव जापानको नेपालस्थित दूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको हो । महोत्सवको मुख्य उद्देश्य दुई देशबीचको मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सद्भावलाई थप मजबुत बनाउनु रहेको छ ।

यसपटकको महोत्सव मनोरञ्जनमा मात्र सीमित रहने छैन । ‘सोलिडारिटी’ अर्थात् ऐक्यबद्धताको नारासहित आयोजना हुन लागेको कार्यक्रममा नेपालका विपद् प्रभावितलाई सहयोग गर्ने उद्देश्यसमेत जोडिएको छ ।

हालै भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली समुदायको सहयोगका लागि गोडाइगोले जापानमा आफ्नो ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सांगीतिक यात्राका क्रममा सहयोग रकम संकलन गरेको थियो ।

ब्यान्डले संकलित रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रूपमा हस्तान्तरण गर्ने जनाएको छ । नेपाल पुनर्निर्माण तथा पुन:स्थापनाका लागि आगामी दिनमा पनि सहयोग जुटाउने र आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता गोडाइगोले व्यक्त गरेको छ ।

आयोजकका अनुसार महोत्सवले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतालाई थप उचाइमा पुर्याउनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । विपद्का बेला अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सांस्कृतिक सहकार्यको सकारात्मक सन्देश विश्वभर पुर्याउनु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको छ ।