काठमाडौं । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन नेपाल भित्र्याइएको छ।
भन्सार कार्यालयका अनुसार छोटो समयमै यति धेरै संख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो। कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो।
गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीका कारण रसुवागढी नाका पूर्णरुपमा बन्द भएकाले विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले जानकारी दिए।
उनका अनुसार चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को संख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन्।
नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा विभिन्न चुनौती खेप्न परेको छ।

सोही समस्याका कारण मुस्ताङ भन्सारमा जाँचपास भइ गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै पनि सडकमै रहेको पाइएको छ।

चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख राजस्व संकलन गरेको छ। उक्त कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य नौ अर्ब रहेको छ।

पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व संकलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिए।
कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ। त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात भएको छ।
त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ। नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए। रासस