काठमाडौं, १७ वैशाख – कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५१८ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभर गरी जम्मा ६८ हजार ५६७ जना सहभागी भएका थिए ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सृजना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको बताएको छ ।
अभियानको क्रममा पछिल्लो २४ घण्टामा १६ हजार ६६४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । मास्क नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने ८ हजार २४ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।
FACEBOOK COMMENTS