बुधबार मृत्यु भएका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं। ४ खनमैदानका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि दाहसंस्कारमा समस्या भएको छ।
बुधवार विहान मृत्यु भएका पुरुषको बिहीबार आएको स्वाव परिक्षणको रिपोर्टले उनमा कोरोना पुष्टि गरेको थियो। उनको शवलाई गाउँमै लगिएपनि स्वाव रिपोर्ट नआउँदा सम्म दाहसंस्कार गरिएको थिएन।
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले कोरोना पुष्टि भएपछि नेपाल सरकारले जारी गरेको कार्यविधि अनुरुप दाहसंस्कार गर्नुपर्ने भएपछि त्यसैको तयारीमा लागिएको जानकारी दिए।
अहिले शव गाउँमै राखिएको छ।
कोरोना पुष्टि भएपछि शव गाड्नु पर्ने भएपनि सुरूमा परिवारले सहमति नदिएपछि रोकिएको थियो भने त्यसपछि शव कहाँ गाड्ने भन्ने विषयमै सहमति नजुट्दा ढिलाइ भइरहेको छ।
अहिले मालारानी वडा नं। ४ को दुई स्थान आरुकापाटा र ठूलढुँगा भन्ने स्थानमा खाडल खनि तयारी अवस्थामा राखिएको भएपनि शव कसरी लैजाने भन्ने विषयमै अलमलिएको अध्यक्ष आचार्यले बताए।
दुई स्थानमा खाडल खनेर तयारी अवस्थामा राखिएको भएपनि एकस्थानमा डेढ किलोमिटर टाढा र उकालो समेत रहेकोले बोकेर लैजान सक्ने अवस्था नभएको अध्यक्ष आचार्यको भनाइ छ।
शव लैजान एम्बुलेन्स बोलाइएको भएपनि संक्रमणको डरको कारण अहिलेसम्म एम्बुलेन्स गएको छैन। नेपाली सेनाले समेत शव बोकेर लैजान डर मानिरहेको स्थानीयले बताएका छन्।
गाउँपालिका अध्यक्ष आचार्यले शव व्यस्थापनको लागि एम्बुलेन्स बोलाइएको र एम्बुलेन्स नआएपनि नेपाली सेनासँग शव व्यवस्थापनकै लागि छलफल भइरहेकोले छिटोभन्दा छिटो व्यवस्थापन गर्ने प्रयासमा आफूहरू लागिरहेको बताए।
आचार्यका अनुसार मृत्यु भएको दुईदिन बितिसकेको र गर्मी समयमा खुल्ला स्थानमा राखिएको कारण शव सडिसकेको छ।
जेठ १४ गते भारतको मुम्बईबाट आएका उनलाई मालारानी गाउँपालिका वडा नं। ४ व्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। उक्त क्वारेन्टिनमा उनीसहित ७ जना थिए।
क्वारेन्टिनमा रहेको बेला अचानक स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि बुटवल ल्याएको भएपनि कोरोना संक्रमणको डरले परिवारले अस्पतालको आईसोलेसनमा भर्ना गर्न डर मानेपछि एम्बुलेन्सबाट नझारी फर्काएर गाउँमै लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो।
FACEBOOK COMMENTS