काठमाण्डौं– चिनी नेपालीहरुको चुल्होसँग जोडिएको छ । संस्कारमा पनि यसको महत्व छ । पाहुना आउँदा पकाइने चिया होस् कि चाडबाडमा पकाइने परिकारहरु, सवैतिर चिनी चाहिन्छ । त्यसैले यो अनिवार्य वस्तु भइसकेको छ । तर, चिनीमा चलखेल गरिरहेका व्यापारीहरुका मारमा नेपालीहरु पर्दै आइरहेका छन् ।
फेरि चिनी उद्योगीहरूले प्रतिवद्धता विपरीत चिनीको मूल्य बढाउन चलखेल गरिरहेका छन् । उनीहरुले गरेको चलखेल अनुसार सरकारले दर कायम गरे चिनीको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म पुग्ने देखिन्छ । नेपाल चिनी उद्योग संघले चिनीको कारखानाद्धार मूल्य ७८ रुपैयाँ १० पैसा हुनेगरी त्यसको हिसाब सरकारी निकायमा बुझाएको छ ।
सरकारसँग सौदाबाजी गरी आयात प्रतिबन्ध गराएर आफ्नो एकाधिकार कायम गर्न सफल भएका व्यवसायी अब चिनीको मूल्य बढाउने अर्को चलखेलमा लागेका छन् । गत वर्ष सस्तो मूल्यमा भारत र पाकिस्तानबाट आयात गरेर मौज्दातमा रहेको चिनीलाई महंगो मूल्यमा बेच्न व्यवसायीहरू उद्दत देखिन्छन् ।
गत साउन ३१ मा सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा एक लाख मेट्रिक टनभन्दा बढी चिनी आयात गर्न नपाउने निर्णय ग¥यो । चिनी उद्योगीले प्रतिकिलो ५७ रुपैयाँ ५० पैसा प्रतिकिलो (मूल्य अभिवृद्धि कर) बाहेक चिनी विक्री वितरण गर्ने र उखु किसानको अर्ब रुपैयाँभन्दा बढीको बक्यौता १५ दिनभित्र भुक्तानी गर्ने सर्तका आधारमा उक्त निर्णय भएको थियो । उक्त समयमा प्रतिकिलो चिनीको भाउ ६३ रुपैयाँ कायम गर्ने प्रतिवद्धता उद्योगीले सरकारलाई गराएका थिए ।
त्यसअघि नै गत आवमा सवा २ लाख मेट्रिक टन चिनी आयात गरी विक्री गरेर उत्पादित चिनी मौज्दात राखी उक्त चिनी विक्रीका लागि आयात प्रतिबन्ध गराउनेसम्मको निर्णय गराउन उद्योगीहरू सफल भएका थिए । उत्पादित ४० हजार मेट्रिक टन चिनी मौज्दात छ ।
आयात प्रतिबन्ध गराइ बजार भाउ बढाउँदा चरम अनियमितता भएको आरोप संसदको सार्वजनिक लेखा समितिले लगाइसकेको छ । यो प्रकरणमा अहिले अख्तियारले छानबिन गरिरहेको छ ।
अहिले चिनीको मूल्य बढाउन उद्योगीले नयाँ हिसाब निकालेका छन् । जसअनुसार चिनीको कारखानाद्धार मूल्य ७८ रुपैयाँ १० पैसा छ ।
उद्योगीले एक किलो चिनीमा उखुको लागत मूल्य ५३ रुपैयाँ ४८ पैसा र त्यसमा चिनीको प्रशोधन खर्च १३ रुपैयाँ ४७ पैसा गरी ६६ रुपैयाँ ९५ पैसाको हिसाब निकालेका छन् ।
जसमा मोलासिस एवम् बगास विक्री रकम कट्टा गर्दा चिनी उत्पादनको कुल लागत खर्च प्रतिकिलो ६४ रुपैयाँ ३० पैसा आउँछ । त्यसमा चिनी कारखानाको ७ दशमलव ५ प्रतिशत मुनाफा कायम राख्दा ४ रुपैयाँ ८२ पैसा हुन आउँछ ।
यसो गर्दा प्रतिकिलो चिनीको मूल्य ६९ रुपैयाँ १२ पैसा आउने र त्यसको १३ प्रतिशत भ्याट गरेर चिनीको मूल्य प्रतिकिलो ७८ रुपैयाँ १० पैसाको हिसाब उद्योगीले निकालेका छन् । यो कारखानाबाट निस्किदाको मूल्य हो ।
यसअघि चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम हुँदा बजार भाउ ७५ देखि ८० रुपैयाँसम्म पुगेको थियो।
यसअघि गत तिहारताका विभागले प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी नबेच्न निर्देशन दिएको थियो ।
सोहीअनुसार विभागले बजार अनुगमन गर्दै आएको थियो । तर, अहिले उद्योगीले मूल्य बढाउन लागेपछि विभागलाई अनुगमनमा समस्या आइरहेको छ । यसले फेरि पनि कालाबजारीलाई फाइदा पु¥याएको छ । त्यसैले सरकारले चिनीमा भइरहेको चलखेल रोक्न लाग्नुपर्छ । उद्योगीहरु अनुसार सरकार निर्णय गर्दै गयो भने नेपालीहरु मारमा पर्ने निश्चित छ ।
FACEBOOK COMMENTS