नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको माहौल तातिरहेको देखिन्छ, तपाईंको तयारीचाहिँ कस्तो छ ?
महासंघको निर्वाचन हुने माहोल पटक–पटक तात्दै सेलाउँदै गएको छ । अन्तिममा अबचाहिँ साँच्चै तातेको अनुभव मैले पनि गरेको छु । विद्यमान कोभिड–१९ को प्रकोपका कारण चुनावी तयारीमा बीचमा हामीलाई केही समस्या भयो । प्रत्यक्ष भेटघाट गरेर आफ्ना कुराहरू सबैसँग सुनाउन नपाएपछि हामीले फोन, म्यासेज र विभिन्न सामाजिक सञ्जालहरूमार्फत भर्चुअल रूपमा प्रचार–प्रसारलगायतका काम गरिरहेका छौं ।
यद्यपि, म लगायत मेरो समूह (चन्द्र ढकाल समूह) को नै तयारी अत्यन्त उत्साहप्रद र सकारात्मक अवस्थामा छ । विभिन्न प्रदेशहरूमा अहिले पनि हाम्रो टीमहरू परिचालित भइरहेका छन् । अहिलकति स्वास्थ्यका कारणले मचाहिँ उपत्यकाबाहिर जान पाएको छैन । तर, काठमाडौंमा बसेर पनि मैले विभिन्न कामहरू गरिरहेकै छु । यसकारण समग्रमा हाम्रो तयारीमा केही पनि समस्या छैन ।
हामी अहिले मात्रै होइन, निर्वाचनको माहौल तात्दा वा सेलाइरहेको अवस्थामा पनि कुनै समयमा निर्वाचन हुन्छ र हामी तयारी अवस्थामा बस्नुपर्छ भन्ने मनस्थिति पहिलेदेखि नै थियो । त्यसले पनि हामीलाई थप बल पु¥याइरहेको छ ।
तपाईंको उम्मेदवारीप्रति धेरै मान्छेको चासो छ, दोहो¥याएर उम्मेदवारी प्रस्तुत गर्नुको औचित्य र आवश्यकता के हो ?
म १३ वर्षदेखि महासंघको मुभमेन्टमा क्रियाशील व्यक्ति हुँ । धेरै योगदान मैले महासंघको लागि गरेको छु र अझै पनि मेरो योगदानको खाँचो छ भन्ने अर्थमा दोस्रो कार्यकालका लागि मेरो उम्मेदवारी हो । महासंघलाई थप योगदान दिन विभिन्न कारणले गर्दा यो पदबाहेक मसँग अन्य विकल्प थिएन । मेरो उद्देश्य ‘सगरमाथा चढ्ने’ नै हो, त्यसैको यात्राका क्रममा अहिले थर्ड बेसक्याम्पको यात्रा गरिरहेको छु । तर, विचलित हुने छैन ।
बस्तुगततर्फ दोस्रो कार्यकाल दोहो¥याउने सन्दर्भमा अन्य व्यक्तिहरूलाई तपाईंले कसरी मनाउन सक्नुभयो ?
यो सन्दर्भमा मैले अरुलाई मनाएको होईन, मलाई उहाँहरूले मनाउनुभएको हो । मैले कोही पनि साथीहरूलाई वा अग्रजहरूलाई गएर हारगुहार गर्न परेन । र, मैले कुनै पनि क्षेत्रको जिम्मेवारी पाउँदा सहजतापूर्वक सम्पादन गर्न सहर्ष स्वीकार गरें । मेरो कुरा गर्नुहुन्छ भने म जिल्ला÷नगर वा एशोसिएटमा पनि चुनाव लड्न तयार थिएँ । त्यसमाथि बस्तुगतमा चुनाव लडिरहेको छु, जुन मेरो आफ्नो क्षेत्र पनि हो । र म इन्कम्बेन्ट भाइस प्रेसिडेन्ट भएकाले मलाई त्यसबाट फाइदा पनि हुन्छ, काम गर्न पनि सहज हुन्छ ।
अर्को कुरा, मैले बस्तुगतका लागि अन्य नयाँ साथीहरूलाई ल्याउँ भनेर प्रस्ताव पनि गरेको हुँ, तर सबै साथीहरूले यो क्षेत्रमा अरु तयार नभएको भन्दै मलाई नै चुनाव लड्न आग्रह गरेपछि मैले दोस्रो कार्यकालका लागि तयारी थालेका हुँ ।
तपाईं यसअघि बस्तुगतमा रहेर तीन वर्षमा के–के काम गर्नुभयो र के–के काम अधुरा रहे ? जस्तो मत प्रतिशतको कुरा
अब त्यो मत प्रतिशतको कुरा त अहिले पनि उठिरहेको छ । जबसम्म विधान संशोधन हुँदैन, हामीले मत प्रतिशतको कुरा यसै निकालेका होइनौं । सत्य कुरा के हो भन्दाखेरि १२–१४ वर्षअगाडि जब म महासंघमा छिरें त्यसबेला मलाई के भनिएको थियो भने बस्तुगत समूह भनेको महासंघको बुद्धि हो ।
महासंघको इतिहास केलाएर हे¥यौं भने प्रायः समितिका सभापतिहरू बस्तुगतकै हुन्छन् । किनभने उनीहरूसँग नेतृत्व क्षमता नै फरक खालको हुन्छ । उनीहरू निडर र निर्भय खालका हुन्छन्, आफ्नो संघका धेरै दुःख भोगेर आएका हुन्छन् ।
कतिपय मान्छेहरूलाई एक चोटी बस्तुगत संघको अध्यक्ष बन्न पाउँदा पनि सौभाग्य महशुस हुन्छ । म त तीन–तीन चोटी अध्यक्ष भएको छु । त्यसैले गर्दा हामीले यो माग गरेका हौं, यो माग कहिले पूरा हुन्छ त्यो त मलाई थाहा छैन, यो मैले या बस्तुगतका साथीहरूले भन्दैमा तुरुन्तै भइहाल्ने कुरा पनि होइन ।
किनभने हामीले अरु साथीहरूलाई पनि हेर्नुपर्छ नि । जिल्लानगर र वडाहरूलाई हामीले हेर्नै पर्छ, उनीहरू महासंघको ताकत हो । त्यसैले सबैसँग सहकार्य र समझदारी गरेर हामीले यो प्रतिशतको कुरा पनि टुंग्याउन जरुरी छ ।
यति लामो समय महासंघको विभिन्न पदमा रहेर काम गरिसक्नुभयो । सरकार र महासंघ बीचको संबन्ध कस्तो महशुस गर्नुभएको छ ?
संसारको कुनै पनि देशमा हाम्रोजस्तो संस्थाको काम सरकार र व्यवसायीहरूको बीचमा पुल बन्नु नै हो । पुल बनेर गर्ने काम भनेकाचाहिँ सरकारले निर्माण गरेको नीतिनियम व्यवसायीमैत्री बनाउन भूमिका खेल्नु हो । त्यसमा हामीले व्यवसाय र राष्ट्र दुबैको अधिक फाइदालाई हेरेर काम गर्नुपर्छ । व्यवसायलाई मात्रै फाइदा र सरकारलाई घाटा हुने स्थिति वा सरकारलाई फाइदा व्यवसायलाई घाटा हुने स्थिति निर्माण गर्न दिनुहुँदैन । वीन–वीन परिस्थिति हामीले निर्माण गर्नुपर्छ ।
त्यो कुरा हामीले गर्न सक्यौं भने र लार्जली हामीले गर्न सकेका पनि छौं । यो तीन वर्षमा पनि हामीले विभिन्न विषयमा लविङ गरेका छौं । हाम्रो सरकारी तन्त्रमा नीति निर्माण गरुञ्जेलसम्म निजी क्षेत्रलाई वास्ता नगर्ने र अन्तिम समयमा मात्रै थाहा दिने चलन धेरै छ, यो राम्रो भइरहेको छैन । ग्रासहुड लेभलदेखि नीनि निर्माणको क्षेत्रमा निजी क्षेत्रलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो माग जहिल्यै पनि छ, तर यसो भइरहेको छैन ।
तर, पछिल्लो समय कर्मचारीतन्त्रमा पनि योङ व्रिगेडियरहरू आउनुभएको छ । उहाँहरूसँगचाहिँ मेरो सोच मेल खाएको मैले पाएको छु । सरकारले बोलेको नीतिले देशलाई सबैभन्दा पहिला फाइदा हुनुप¥यो । देश र जनतालाई आर्थिक रूपमा सवल बनाउने तत्व हामी उद्योगी व्यवसायी हौं । अनि हामीलाई सफल बनाएपछि न सबै क्षेत्र सफल बन्न हो ।
र, अर्को कुरा हामीले उद्योगी व्यवसायीले कर नतिरेमा वा कम कर तिरेमा, उद्योग व्यवसायी फस्टाएन भने त सरकारलाई नै समस्या पर्ने हो । किन भने सरकार त करको भरमा चलिरहेको छ नि । त्यसकारण अहिलेको सरकारले भन्दै आएकोजस्तो राष्ट्रिय पूँजी निर्माण गर्न पनि औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्नुप¥यो, व्यापार गरेर मात्रै पनि त्यो पूँजी निर्माण हुन सक्दैन ।
गएको बजेटले केही सम्बोधन त गरेको छ, तर केही विषयमा अझै ध्यान दिइएको देखिएको छैन । छुटेका कतिपय विषयलाई पनि राज्यले ध्यान दिँदै जाओस् । मलाई लाग्छ, अब आउने कार्यकालमा हामीले उद्योग क्षेत्रलाई विशेष महत्व दिनेगरी काम गर्नुपर्ने छ ।
कोभिडपछिका दिनहरूमा व्यवसायहरूले सरकारबाट खासै राहत महसुश गर्न सकेन भन्ने गुनासो तपाईंहरूको छ । सानादेखि ठूला व्यवसायको समेत छाता संस्था रहेको उद्योग वाणिज्य महासंघले पनि खासै प्रभावकारी र सान्दर्भिक भूमिका खेल्न नसकेको चर्चा पनि चलेको छ नि ?
यो विषय बारम्बार दोहोरिएको मैले पनि सुनेको छु । तर, हामीले सबैले बुझ्नुपर्ने कुरा भनेकोचाहिँ हाम्रो र सरकारको क्षमता कति हो त्यसमा हामी क्लियर हुन जरुरी छ । मैले यहाँ सरकारलाई डिपेन्ड गरिरहेको छैन । सरकारलाई त मैले भन्दै आएको छु, तिमिले आफ्नो साधारण बजेट खर्च घटाएर खर्चलाई अति नै साँघुरो बनाउने । १–२ खर्ब नै साधारण बजेट घटाउनुपर्छ ।
यस्तो आपत परेको बेलामा कतिपय क्षमतावान देशले समेत कर्मचारीको तलव घटाएको स्थिति छ । त्यसरी खर्च कटौती गरेर देशको आर्थिक मेरुदण्ड बनेको साना तथा मझौला व्यवसायलाई माथि उकासेका छन्, हामीकहाँ पनि सोही अनुरूप गरिनुपर्छ । तर, सरकार र हामी भने ब्याजको झमेलामा अल्झियौं तर त्यो ठिक रहेनछ भन्ने कुरा अहिले महसुश हुँदै आएको छ व्यवसायको क्षेत्रमा ।
सन्दर्भ निर्वाचनतिरै केन्द्रित गरौं, महासंघभित्र विभिन्न समस्याहरू छन् भन्ने गरिन्छ, जसलाई ‘क्यान्सर’ लागेको पनि भन्ने गरिएको छ । तिनलाई कसरी समाधान गर्न सकिन्छ ?
मान्छे दुईजिब्रे हुँदैन र हुनुहुँदैन पनि । हिँजो आफूअनुकुल हुँदा त्यही कुरा सही र प्रतिकुल हुँदा गलत भन्ने मानसिकताबाट हामी माथि उठ्नुपर्दछ । आफू दशौं–पन्ध्रौं वर्ष त्यहाँ रहेर काम गर्ने अनि अहिले महासंघ बिग्रियो, क्यान्सर लाग्यो भन्ने ? म वा त्यो भन्ने मान्छेहरू त्यहाँ रहँदा क्यान्सर लागेको हेरेर मात्रै किन बसिरह्यौं, किन सपार्नतिर लागेनौं त ?
र, महासंघमा क्यान्सर लागेको भन्नु हाम्रा अग्रजहरू वा पूर्वअध्यक्षहरू जसको मेहनतको फलले महासंघ आज ५४औं वर्षमा पुगेको छ । हामी गौरवका साथ ५४औं वार्षिक साधारणसभाको तयारीमा छौं र यो संस्था नेपालभर फैलिएको छ, यसो भन्नु उहाँहरूप्रति अपहेलना गर्नु र लाञ्छना लगाउनु हो ।
पर्फमेन्समा कहिलेकाहीँ तलमाथि हुनु स्वाभाविक हो । तर, महासंघ खस्क्यो, भ्रष्टाचार भयो, क्यान्सर लाग्यो भन्नुको के तुक छ ? आफू हुञ्जेलसम्म केही नहेर्ने अनि अहिले त्यस्तो दुईजिब्रे कुरा गर्न सुहाउँछ उहाँहरूलाई ? त्यसैले कसैलाई पनि अलमल्याउने काम कहिले पनि गर्नुहुँदैन । चुनाव जित्नु छ भन्दैमा सत्य लुकाएर असत्य बोल्दै हिँड्नु किमार्थ ठिक होइन ।
महासंघमा फेरि फाटोको स्थिति आउन थालेको चर्चा पनि चलेको छ नि ?
त्यस्तो बिल्कुल होइन । महासंघका एकैचोटी मात्रै फाटोको अवस्था आएको इतिहास छ । महासंघको एउटा चुनावपछि फाटो आएर सीएनआई बनेको हो । मैले पनि ३–४ वटा निर्वाचनहरू हेरिसकेको छु । हामीभित्र बन्ने समूहहरूलाई कतिपय सञ्चारमाध्यम वा बाहिर बस्नेहरूले राजनीतिको संज्ञा दिइरहेका छन्, तर म यसलाई राजनीति भन्दिनँ, किनभने राजनीतिको रङ हुँदैन महासंघमा न कम्युनिष्ट छौं न कांग्रेस । त्यसैले यो राजनीति होइन एउटा ग्रुपको चाहना मात्रै हो ।
त्यसो भए सुद्धिकरणको चर्चाचाहिँ के हो त ? नारा नै दिइएको पाइन्छ त !
त्यसो भए हिजोचाहिँ अशुद्ध थियो त ? हिजो अशुद्ध हुँदा उहाँहरू कहाँ हुनुहुन्थ्यो त ? एउटा पनि बैठकमा शुद्धिकरण गर्नुप¥यो भनेर प्रसङ्ग उठाएको त मैले चाल पाइनँ त । उहाँ (अहिले चुनाव लड्ने सबै मित्र)हरू नै विभिन्न पदमा हुनुहुन्थ्यो त ! त्योबेला शुद्धिकरकणको नारा किन नचाहिने र अहिले किन चाहियो ? त्यसैले नारा दिन सजिलो छ, काम नाराले होइन व्यक्ति, विचार र विश्वासले गर्ने हो हामी त्यसको पक्षमा छौं ।
नेतृत्व निष्पक्ष बनोस् भन्ने उद्देश्यसहित महासंघको विधानमा व्यवस्था गरिएको कुलिङ पिरियड कत्तिको अर्थपूर्ण र प्रभावकारी बन्दै छ त ?
खासमा पहिला म त्यो विधानको विपक्षमा थिएँ । पछि मलाई सम्झाइयो र अहिले यो राम्रो लागेको छ ।
राम्रो लागे पनि व्यवहारमा त देखिएको छैन नि ?
त्यो त व्यक्ति–व्यक्तिमा भर पर्ने कुरा हो नि । आज वरिष्ठ भएको मान्छेले भोलि चुनाव भएपछि त हामीसँग पनि काम गर्न पर्ला नि । एउटा समूहलाई च्यापेर हिड्दा त काममा असहजता आउला नि । तर म उहाँहरूलाई के भन्न चाहान्छु भने हामी त्यस्तो पक्ष वा विपक्ष गर्दैनौं । चुनाव सकिएसँगै पक्षविपक्ष सकिनुपर्छ ।
शेखर गोल्छाको भूमिकालाई यहाँले कसरी हेर्नु भएको छ?
मेरो हिसाबमा उहाँले काखी च्यापेर गल्ती गर्नुभएको छ । तीन वर्षअगाडि उहाँ सक्षम मान्छे हो । उहाँको सक्षमता देखेर नै हामीले वरिष्ठमा ल्याउनुपर्छ र अध्यक्ष बन्नुपर्छ भनेका थियौं । म अझै पनि भन्छु त्यो कुरा । तर, उहाँले व्यक्तिगत कारणले यस्तो भएको हो भन्नुहुन्छ, तर व्यक्तिगत कारणले महासंघलाई धोखा हुनुहुँदैन त्यो मेरो मान्यता हो । र, उहाँले गरेको सही कामलाई म जहिल्यै पनि सम्मान गर्छु ।
महासंघमा व्यावसायिक राजनीति हाबी भएको हो ?
यो व्यावसायिक राजनीति होइन, यसका सबै स्पष्ट हुन जरुरी छ । कम्तीमा म चाहिँ यसबाट टाढै रहन चाहान्छु । म यस्तो परिवारमा जन्मिएँ जहाँ कम्युनिष्टहरूको बाहुल्य थियो । मेरो बुबा कम्युनिष्ट पार्टीको संस्थापक, मेरी आमा पनि कम्युनिष्ट, जो पोलिटव्युरो सदस्य समेत हुनुभयो । मैले आफ्नो होस् सम्हालेदेखि सबै कुराहरू देख्दै र भोग्दै पनि आएको छु । उहाँहरूका राजनीतिक छलफलहरूबाट म टाढा रहिन, सबै कुरा सुन्थें ।
बुबा छिट्टै बित्नुभयो । आमा २००८–००९ सालसम्म सक्रिय राजनीतिमै हुनुहुन्थ्यो । बुबाको देहान्तपछि आमाले राजनीति त्यागेर परिवारलाई समय दिनुभयो । दिदी र मलाई हुर्काएर पढाउनुभयो । म आज जे छु मेरी आमाको कारणले छु ।
त्यसपछि मैले २०३०–०३२ सालदेखि राजनीतिको विभिन्न उतारचढावहरू देखेको छु । अनि मलाई के लाग्यो भने मेरो बुबा–आमाले राजनीतिक र सामाजिक चेतनाका लागि काम गर्नुभएको छ भन्ने लाग्थ्यो । तर, मलाई अर्थ निकै महत्वपूर्ण लाग्थ्यो । त्यसो भन्दैमा पैसालाई धेरै महत्व दिने मान्छे म होइन, अहिले पनि त्यस्तो छैन ।
राजनीतिमा मैले पनि केही गर्न सक्थें तर त्यहाँ मलाई भाग खायो, बुबा–आमाको बिडो थाम्यो भन्नेहरूको लाइन हुन्थ्यो, त्यसमाथि मैले राजनीतिमा जति गरे पनि उहाँहरूको योगदान भन्दा धेरै त गर्न सक्दैनथें । त्यसैले मैले यो गर्नु हुँदैन भन्ने लाग्यो र राजनीतिबाट टाढा रहें र अब उप्रान्त पनि नजिक हुन चाहदिनँ ।
राजनीतिको कुरा गरियो, यसैजँग जोडिएर हेर्दा वर्तमान सरकार कत्तिको उद्योगमैत्री छ ?
सरकार उद्योगमैत्री भइदिएको भए यति ठूलो स्वर गरेर कराउनै पर्दैनथ्यो । कोभिडको बेलामा पनि धेरै कराउन प¥यो ।
लविङ पुगेन कि ?
अब लविङ त कतिलाई पुग्यो भन्न,े कतिलाई पुगेन भन्ने ज्वरो नापेको जस्तो थर्मोमिटरले नाप्ने कुरा भएन । हामीले लविङ नगरेको होइन । म लगायत हाम्रो अध्यक्षजी र शेखरजीसहित हामीहरूको दिनचर्या सिंहदरबारमै बित्यो । त्यो त हामीले आ–आफ्नो कम्पनीका काम गर्न त गएका थिएनौं । कहिले कुन संस्थाको समस्या आउँछ, कहिले लेवरको समस्या आउँछ, कहिले बस्तुगत त कहिले जिल्लाको समस्या । समस्याहरू सुल्झाउने प्रयन्तहरूमै हामीहरू व्यस्त भइराख्यौं ।
यो तब समस्या समाधान हुन्छ जब नीति बनाउँदाखेरि तलखेखि हामीलाई सँगै राखिन्छ । तर, हामीले गर्न नसकेका काम पनि छन्, हरेक काम सफल मात्रै हुन्छन् भन्ने पनि हुँदैन । कहिलेकाहीँ समय पनि लाग्छ, आजको भोलि तुरुन्त भइहाल्दैन ।
ठ्याक्कै सफल भएको काम कुनै छन् त ?
थुप्रै कामहरू हामीले गरेका छौं नगरेको होइन । त्यसमध्ये एउटा ठूलो डेरी कम्पनी नेपालमा छिर्न लागेको थियो । हाम्रो डेरीका मित्रहरूले के भन्नुभयो भने यो छि¥यो भने त हामी सबैलाई खाईदिन्छ, हामीलाई पनि सही लाग्यो । अनि हामीले लविङ शुरू ग¥यौं । समिति, मन्त्री र सरोकारवालाहरूसँग निरन्तर लविङ गरिरह्यौं अन्तिममा त्यो रोकिएरै छाड्यो ।
देशमा उद्योग चलाएर तपाईं आफैं चाहिँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म त्यति सन्तुष्ट छैन । हामीले र सरकारले गर्नसक्ने धेरै कामकुरा हुँदाहुँदै पनि नहुँदा वा नगरिँदा मलाई पूर्ण रूपमा चित्त बुझेको स्थिति छैन । सरकार राजस्व केन्द्रित मात्रै भइरहेको छ । यसले उद्योग व्यवसायलाई फाइदा पु¥याइरहेको छैन । यो कुरा सरकारले बुझेर काम गरे म मात्र होइन धेरै उद्योगी व्यवसायीको चित्त बुझ्ने थियो ।
योजना बनाएर काम गर्ने प्रणाली सरकारले विकास गर्न सकेन, भएको योजनालाई पनि कार्यान्वयन प्रक्रिया बलियो बनाउन नसक्दा विकासको गति धिमा भइरहेको छ । यसको प्रभाव उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमा परिरहेको छ ।
कृषिप्रधान देश हाम्रो नेपालमा ठूला उद्योगपतिहरू किन यो क्षेत्रमा आकर्षित हुन सकेनन् ?
मुख्यतः कृषि गर्दखेरि जग्गा किनेर काम गर्दा फाइदा लिन सकिदैन, नेपालमा जग्गा महँगो छ । सरकारको जग्गा धेरै, सरकारले चक्लाबन्दीको नीति पनि लिएको छ । सरकारको २००–३०० बिगा जग्गा उपलब्ध गराउने हो भने काम गर्न सजिलो हुन्थ्यो र जग्गाको उपयोग पनि हुने थियो ।
जस्तो, हामीले पनि रबर प्लान्टको काम गरेका छौं । विर्तामोड नगरपालिकाले नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत परिषद्लाई ८ बिगा जग्गा उपलब्ध गराएको छ । त्यहाँ हामीले एक्सपोर्ट प्रोसेसिङको प्लान्ट खोल्ने तयारी गरेका छौं । र, हामीले प्रदेश १ सरकारसँग कुरा गरेका छौं यो विषयमा ।
सरकारले कृषिलाई प्रवद्र्धन गर्दै ठूला उद्योगपतिहरूलाई आकर्षित गर्ने नीति लिने हो भने यति ठूलो राष्ट्रिय पूँजी निर्माण हुन्छ कि जसले ५ वर्षका विकसित नभए पनि कायापलट हुन्छ । त्यसबाट कोही पनि नेपालीले विदेशमा गएर सानातिना काम गर्न पर्ने छैन ।
ठूला–ठूला प्रतिष्ठित पदमा काम गर्न गए पनि सामान्य रोजीरोटीका लागि विदेश धाउनुपर्ने स्थिति नै आउँदैन । यसो हुँदा सरकारले अहिले लिएको धेरै लक्ष्यहरू समेत पूरा हुने अवस्था छ । तर सरकारले निजी क्षेत्रलाई साथ देवस् ।
निजी क्षेत्रलाई जबसम्म सरकारले वेवास्ता गर्छ तबसम्म देशको विकास असम्भवप्रायः छ ।
अन्तिममा केही भन्न चाहानुहुन्छ ?
यति लामो कुराकानीमा सबै विषय समेटिएको छ । यद्यपि, यो निर्वाचनको माहोल भएका कारण म पुनः एकपटक मेरा मतदाताहरूसँग भोट अपिल गर्न चाहान्छु । विगतमा जस्तै यो पटक पनि मायाका साथ मतदान गरिदिनु होला । तपाईंको मत कुनै पनि हालतमा खेर जान नदिने विश्वास म र मेरो टीम तपाईंहरूलाई दिलाउन चाहान्छ ।
विशेषगरी विद्यमान अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सुरक्षित रहनुहोला ।
FACEBOOK COMMENTS