काठमाडौं, पुस २६ – अमेरिकाको क्यापिटल हिल (संसद् भवन) मा भएको हिंसापछि सामाजिक सञ्जाल ट्वीटरले स्थायी रुपमै राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट निलम्बित गरेको छ । यससँगै भारतका प्रधानमन्त्री मोदीलाई फाइदा भएको छ ।
ट्वीटरमा विश्वकै सबैभन्दा धेरै फलोअर्स पाउने विश्वका कार्यकारी प्रमुख नेताको सूचीमा मोदी पहिलो स्थानमा उक्लिएका छन् । ट्रम्पको आग्रहमा उनका सयौं समर्थकहरुले बुधबार क्यापिटल हिल घेराऊ गरेका थिए । त्यहाँ हिंसा निम्तदा ५ जनाको मृत्यु भयो । शुक्रबार ट्वीटरले स्थायी रुपमै ट्रम्पको एकाउन्टलाई निलम्बन गरिदिएको छ ।
निलम्बित हुनअघि ८ करोड ८७ लाख फलोअर्स रहेका ट्रम्प ट्वीटरमा सबैभन्दा धेरै फलो गरिने कार्यकारी प्रमुख नेता थिए । उनीपछि दोस्रो स्थानमा रहेका मोदीको ६ करोड ४७ लाख फलोअर्स छन् । त्यसैले, अब यो सूचीमा मोदी पहिलो स्थानमा उक्लिएका छन् ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनका ट्वीटरमा २ करोड ३३ लाख फलोअर्स छन् । सर्वाधिक धेरै ट्वीट फलोअर्स भएका राजनीतिज्ञ भने अमेरिकाकै बाराक ओबामा हुन् । पूर्व राष्ट्रपति ओबामालाई ट्वीटरमा १२ करोड ८० लाखभन्दा धेरैले फलो गरेका छन् । यद्यपी, पदमा बहाल नेतामध्ये मोदी सर्वाधिक धेरै फलोअर्स कमाउने नेता बनेका छन् ।
FACEBOOK COMMENTS