काठमाडौं, जेठ ३ । देशमा सञ्चालनमा रहेको २९ वटा अक्सिजन उद्योगमा १ लाख ११ हजार ३६४ वटा सिलिन्डर रहेको पाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएअनुसार उपत्यकाका १० र बाहिरका १९ वटा उद्योगमा एक लाखभन्दा बढी सिलिन्डर रहेको छन् ।
कुल सिलिन्डरमध्य ७२ हजार २५० वटा ठूला र ३९ हजार ११४ वटा साना सिलिन्डर भएको मन्त्रालयको भनाई छ । अक्सिजन आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाएको उद्योगको मन्त्रालयले अक्सिजन उद्योगमा नियमित अनुगमन गर्दै आएको छ ।
कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिँदै जाँदा यतिबेला नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । भारतीय कोरोना भेरियन्टमा एकसय संक्रमितमध्य २० जनालाई अक्सिजन चाहिने अध्ययनले देखाएको छ ।
अहिले नेपालमा फैलिएको भाइरस पनि भारतीय भेरियन्ट भएकाले नेपालको स्थिती त्यस्तै भएको हो । सोहीकारण, यतिबेला नेपालका अस्पतालमा अक्सिजन र अक्सिजनको सिलिन्डर अभाव भइरहेको छ ।
खासगरी, भारतले अक्जिन सिलिन्डरको निर्यात बन्द गर्दा नेपाललाई समस्या परेको हो । भारत आँफै दोस्रो लहरबाट ग्रसित हुँदा नेपालतर्फ सिलिन्डर निर्यात नगरेको हो ।
नेपालमा अक्सिजन सिलिन्डर अभाव भएको देखेर चीनले २० हजार सिलिन्डर अनुदानमा दिने घोषणा गरिसकेको छ । जसमध्ये ८०० नेपाल आइसकेको छ भने १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ।
FACEBOOK COMMENTS