काठमाडौँ, फागुन २१ – प्रधानमन्त्री केपी ओलीले नेपाली जनताले शान्ति र स्वाधिनताको पक्षमा एकताबद्ध हुने चाहना राखेको चर्चा गर्दै यो महान अभियनामा नेकपाका महासचिव विप्लवले ऐतिहासिक योगदान दिएको बताएका छन् ।
आज राजधानी विप्लव समूहसँग भएको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने – देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण नै सबैको चाहना हो , त्यसका लागि शान्ति र लोकतन्त्र रहनुपर्छ ।
देशमा गतिशील जनशक्ति र वातावरण तयार गर्न आज ऐतिहासिक कदम चालिएको छ , नेपाल शान्तिपूर्ण प्रकृयामा छ, हिंसा छैन भन्दै उनले नेपाल शान्तिपूर्ण देश भएको सन्देश दिन आजको दिन स्मरण गरिनेछ–उनले भने । नेपाल शान्तिको मामलामा धेरै अगाडि रहेको अन्तराष्ट्रिय अध्ययनले प्रष्ट्याएको उनले बताए ।
आजबाट त्यसको प्यारामिटर अझै माथि पुग्ने पनि उनले चर्चा गरे । यसका लागि विप्लबजी धन्यवादको पात्र हो भन्दै प्रधानमन्त्रीले यो साहसिक निर्णय लिएकोमा धन्यावाद व्यक्त गरे । यो सेफ ल्याण्डिङ हो, यसैबाट जनताको सपना पूरा गर्न सकिने बुझेर नै यो बाटो तय गरेको उनले प्रष्ट गरे । यो उपलव्धि रातारात होइन, लामो समय लगाएर गरेको जानकारी दिंदा प्रधानमन्त्री ओलीले झण्डै आठ वर्ष अगाडिबाटै यो अभियानको थालनी भएको बताए ।
आज त्यो वार्ता सार्थक भएको छ भन्दै उनले तीन बुँदमा सबै समेटिएको प्रष्ट पारे । अठार पुराणको निश्कर्ष व्यासले दुई वाक्यमा टुंग्याए जस्तै यो पनि तीन बुँदामै छलफल र वार्ताबाट टुंग्याएको प्रधानमन्त्री ओलीले बताए । अबका गतिविधि शान्तिपूर्ण क्रियाकलापबाटै अगाडि बढ्ने भनेपछि सबै नेता कार्यकर्ता प्रकृया पुरा गरेर थुनामुक्त हुने जानकारी दिंदै प्रधानमन्त्री ओलीले यसअघि सीके लाललाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको चर्चा गरे ।
आफूहरु एउटै उद्येश्यमा रहेको भन्दै उनले समृद्ध नेपाल सुखी नेपाली र निर्माण नै सबैको अभिष्ट भएकाले मिलेर नै अगाडि बढ्न सकिने पनि उनले बताए । ती सपना पूरा गर्ने प्रयासमा एकजुट हुन उनले आह्वान गरे ।
FACEBOOK COMMENTS