तस्विर वि एण्ड वि मिडिया
अन्जनराज न्यौपाने
तनहुँ २२ पौष -तनहुँको व्यास ५ स्थित मानहूँकोटमा नेपालको हालसम्मकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । ब्यास नगर यूवा सञ्जाल तनहुँको सक्रियतामा पर्यटन वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय झण्डा राख्न लागिएको हो। क्लब संजालका अध्यक्ष गौरव पन्तका अनुसार मानहुँकोटमा निर्माण गरिने झण्डाको लम्बाई ४५ फिट र त्यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो राखिनेछ । पूर्वाधार निर्माणमा रु. १६ लाख ५२ हजार एक सय ७० रुपैयाँ लाग्नेछ भने दाता सम्मान रु.१ लाख र झण्डा निर्माणका लागि रु. ५० हजार, छलफल गोष्ठी रु. ५० हजार, प्रचार प्रसार रु. तीस हजार र उद्घाटनको लागि रु. तीस हजार गरी कूल १९ लाख १२ हजार एक सय ७० को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।नेपाल सरकारको भ्रमण बर्ष २०२० लाई भव्यताकासाथ मनाउने उदेश्य अनुरुप राष्ट्रिय झण्डाको माध्यमबाट पर्यटन प्रवर्धन गर्न र मानुङकोटलाई राष्ट्रिय रुपमा विकास गराउने मुल लक्ष्यका साथ ब्यास जन्म भूमिलाई विश्वमाँझ चिनाउन अभियानको रुपमा हामी लागिपरेको ब्यास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘यस क्षेत्रको विकासका लागि व्यापक प्रचारप्रसार गर्न यस वडा र सिङ्गो ब्यासनगर लागिपरेको छ, हामी आगामी बैशाख १ गते सम्ममा राष्ट्रिय झण्डा सिद्धबाबा कोट भैरवमा राख्ने नै छौ’वडाध्यक्ष श्रेष्ठले बताए।
हालसम्म नेपालकै ठूलो राष्ट्रिय झण्डा भनि काठमाडौंको माइतिघर मण्डलामा रहेको झण्डालाई मानिदै आएको छ । तर अब भने मानहुँकोटमा देशकै ठूलो राष्ट्रिय झण्डा राखेर पर्यटक प्रवद्र्धन मार्फत व्यास नगरपालिकालाई स्वदेश तथा अन्तर्राष्ट्रिय जगतलाई समेत परिचित गराउने लक्ष्य लिईएको क्लवले जनाएको छ। वेदव्यासले घनघोर तपस्या गरेको पवित्र धार्मिक पुण्यभूमि मादी र सेतीको संगम स्थल, कृण्ण दैपायनबाट दक्षिणपट्टी ब्यास भगवानका पिता महर्षि पराशर ऋषिको आश्रम फेदीमा र शिरमा पर्यटकीय शीखर मानुङकोट रहेको छ। नेपालकै ठूलो मानुङकोटमा किर्तिमानी राष्ट्रिय झण्डा राख्ने क्लवले जनाएको छ।मानहुँकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । मानहुँकोट खाजाघरकी सञ्चालिका रेवती आलेले शुक्रबार र शनिबार बाहेक दिनमा मात्रै मानहुँकोटमा दैनिक दुर्इ तीन सय आन्तरिक पर्यटक आउने गरेको जानकारी दिईन्। उनका अनुसार शुक्रबार, शनिबार र बिदाका दिन मानहुँकोटमा दैनिक पाँच छ सय पर्यटक पुग्ने गरेका छन् ।
मानहुँकोटबाट दमौली बजार लगायत आसपासका क्षेत्र छर्लङ्ग देखिन्छ । जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नीजकबाट नियाल्न पाउँदा आनन्द लाग्ने व्यास नगरपालिका–१ का युवा ब्यबसायी अर्जुन पौडेलले बताए । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको बाँध निर्माण स्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन गर्ने स्तम्भ हो।यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । मानहुँडाँडा पुग्न बाटो कालोपत्रेको काम पनि शुरु भइसकेको छ ।
संघीय सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै शुरु हुने बतार्इएको छ । सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे ६ किमी बाटो कालोपत्रेका लागि काठमाडौंस्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ ।मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्यामा अझै वृद्धि हुने भएको छ भने हालसम्म अस्ट्रेलिया, न्युजिल्यान्ड, चीन, स्विट्जरल्यान्ड, अमेरिकालगायत मुलुकबाट मानहुँकोट हेर्न आएका पाँच सयभन्दा बढी पर्यटकले मानहुँकोट भ्रमण गरिसकेको र मानहुँकोटको पर्यटन प्रवद्र्धनका लागि ब्यास नगरपालिकाले उक्त ठाउँमा रु ४० लाखको लागतमा दृश्यावलोकन स्तम्भ ९भ्युटावर निर्माणको प्रक्रिया अगाडि बढाइसकेको मानहुँ क्षेत्र विकास कोष संरक्षण समितिका अध्यक्ष वीरबहादुर थापाले बताए ।
FACEBOOK COMMENTS