काठमाडौं, फागुन २१- प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार बिहान ९ बजे दोस्रोपटक मृर्गौला प्रत्यारोपण गरिने भएको छ। मृर्गौला प्रत्यारोपणकोलागि सम्पूर्ण तयारी पूरा भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्काले जानकारी दिए ।
मंगलबार बिहानदेखि नै मृगौला प्रत्यारोपणपूर्व गरिने डायलासिस, हेमोग्लोबिन, रगत परीक्षणलगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिसकिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भीभीआईपी क्याबिन ६०१ नम्बरमा सोमबार साँझ भर्ना गरिएको थियो। मृर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरहरुको टोली तयार भएको छ ।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मृर्गौला दान गर्दै छिन्। मृर्गौला प्रत्यारोपण नेपालमै एक दर्जनभन्दा बढीमा भइसकेको र सफल दर पनि उच्च रहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका डा। ज्ञवालीले बताए ।
बिहान ९ बजे आसपासमा सुरु गरिने मृर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई पनि बोलाइएको छ ।
FACEBOOK COMMENTS