काठमाडौं । केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिइन ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न आएकी लामाको मुहारमा बिचित्रको चहक छाएको थियो ।
‘९० सालमा जन्मिएकी हुँ, ८८ वर्षकी भएँ । काम गर्न सक्दिन, यो भत्ता मेरा लागि साहारा बनेको छ,’ चिम्सा आँखासहित चमकदार अनुहार बनाउँदै लामाले भनिन् ‘मेयरज्यु र काठमाडौँ महानगरपालिकालाई धेरैधेरै धन्यवाद । हामी डाँडामाथिका घाँम भइसकेकाहरुका लागि लौरोसँगै यो भत्ता पनि सहारा बनेको छ ।’
त्यसो त बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुगेका ८० वर्षीय दिपकराज पुडासैनीको पनि अनुहारमा निकै खुसी थियो । एकै पटक परिवारका दुई जनाले २४ हजार भत्ता थापेपछि उत्साहित हुँदै पुडासैनीले भने,’ ‘यो भत्ता कसैलाई दिने होइन । यसले इच्छा लागेको खाने कुरा किनेर खाने हो । श्रीमती वाथ रोगी छिन् । नियमित औषधी खानुपर्छ । यहि पैसाले औषधी किन्ने हो ।’
पुडासैनीले पनि लामाले जस्तै महानगरपालिकाले सम्मान स्वरुप दिएको भत्ताले आफूहरु खुशी भएको बताए । पुडासैनीसँगै बसेकी तेजकुमारीले दिपकका कुरा नसिकदैँ आखाँ तेज बनाउँदै भनिन्, ‘मैले पहिलो पटक महानगरपालिकाले दिएको विशेष भत्ता थाप्न पाएँ । औधी खुशी छु । यो हाम्रो उमेरका नागरिकका लागि साहरा हो ।’
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गरे । महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ठ दिदैँ आएको छ ।
यो वर्ष काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ । ‘७५ बर्ष उमेर पुगेका र काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने वरिष्ठ ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँका दरले बार्षिक एकमुष्ट १२ हजार रुपैयाँ प्रदान गर्दै आएका छौँ,’ विभिन्न वडामा महानगर विशेष भत्ता वितरणमा सहभागी हुनुभएका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले विश्व नै कोभिडको कहरमा छ । यस्तो बेलामा बढी भिडभाड नहोस भनेर हामीले स्वास्थ्य मापदण्डको ख्याल गर्दै सकेसम्म उहाँरुको स्वास्थ्य अवस्थालाई पनि ध्यानमा राखेर घर–दैलोमै पुगेर विशेष भत्ता प्रदान गरिरहेका छौँ ।’
FACEBOOK COMMENTS