सेल्स– बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेका छन् ।
युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन हुने छैन ।
युरोपेली युनियनको शिखर बैठक बिहीबार बस्नेगरी तय भएको छ । बैठकमा युरोपेली युनियनमा आबद्ध देशका नेताहरु सहभागी हुने कार्यक्रम छ । गत नोभेम्बर २५ मा भएको युरोपेली युनियनको बैठकले बेलायतको बहिर्गमन सम्बन्धी सम्झौता (ब्रेक्जिट)लाई अनुमोदन गरेको थियो ।
तर निकै लामो बहस र मध्यस्थता पश्चात सम्पन्न उक्त सम्झौता भएलगत्तै बेलायतमा नयाँ विवाद उत्पन्न भएको छ ।
सम्झौताका विषयमा बेलायती जनमत र संसदमा चर्को बहस हुनुका साथै दोस्रो जनमतसङ्ग्रह गर्नुपर्ने आवाज उठेको छ । साथै, प्रधानमन्त्री मेको नेतृत्व क्षमताका बारेमा पार्टीभित्र र संसदमा छलफल भइरहेको छ । – रासस
FACEBOOK COMMENTS