धनुषा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् ।
मन्त्री महासेठले मंसिरको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए । मन्त्री महासेठले अहिले तत्काल रेल्वेको उद्घाटन हुने कुनै किसिमको कार्यक्रम तय नभएको बताए ।
जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे ।
मन्त्री महासेठले आगामी महीनाभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–विजलपुरा हुँदै बर्दिवाससम्म रेल सञ्चालन हुने बताए । मन्त्री महासेठले आउने चार वर्षमा दुई हजार ८०० किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र एक हजार २०० किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताए । रासस
FACEBOOK COMMENTS