काठमाण्डौ, फागुन १५- नेपालमा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारत सरकारले सहयोग गर्ने भएको छ। भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभाग प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चार वटा सम्झौतापत्रमा हस्ताक्षर गरे।
धादिङ जिल्लामा १२ र सिन्धुपाल्चोक जिल्लामा १३ गरी कूल २५ वटा स्वास्थ्यचौकीको पुनर्निर्माण हुन लागेको हो। २०७२ सालको भूकम्पले क्षति पुर्याएका यी स्वास्थ्यचौकी ५३ करोड रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो।
सोही अवसरमा सफल बोलपत्र दातालाई कार्य हस्तान्तरण गर्न ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका बीच चार वटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर सम्पन्न भयो। यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ। सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्छ।
नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ।
सोही प्रतिबद्घता अनुरूप १ सय ४७ वटा स्वास्थ्य परियोजनामध्ये यी २५ वटा स्वास्थ्यचौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत हुन लागेको हो। बाँकी परियोजनाहरू बोलपत्र आह्वान प्रक्रियाको सुरुआती चरणमा रहेको छ। यी स्वास्थ्य संरचनामा ओपीडी, डिस्पेन्सरी, औषधि भण्डारण कक्ष, एन्टी/पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपागंमैत्री सरसफाइ संरचना रहनेछन्।
स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्न भारत सरकार नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ। सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुर्याइएका साना विकास परियोजनाअन्तर्गतका ४० भन्दा बढी स्वास्थ्य शिविर/स्वास्थ्यचौकी निर्माण सम्पन्न भइसकेका छन्। सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैरसरकारी/गैरनाफामूलक संस्थालाई ८ सय २३ भन्दा बढी एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ।
FACEBOOK COMMENTS