कृष्णबहादुर आङ्देम्बे
सञ्चालक, लालीगुराँस रेष्टुरेन्ट,कोतराय, मलेसिया
कृष्णबहादुर आङ्देम्बे मलेसियामा सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन । बिगत २५ वर्ष लामो मलेसिया बसाइँमा आङ्देम्बेले मलेसियामा सफल रुपमा रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेका छन् । नेपालको घर पाँचथर भएका कृष्णबहादुर बेसी झर्ने सिलसिलामा झापाको दमकमा बस्न थालेको बताउँछन् । जन्मथलो नेपाल छाडेर अहिले कर्मथलो मलेसियामा रहँदै नेपाली व्यवसाय गर्न पनि उनि सक्षम छन् भन्ने संसारलाई देखाउन सफल भएका छन् आङ्देम्बे । हाल मलेसियाको विभिन्न ठाउँमा चेन व्यवसायका रुपमा रेष्टुराँ बिस्तार गरिसकेका कृष्णबहादुर भविष्यमा अझ व्यापार व्यवसाय बढाउने र देशका लागि केही गर्ने सोच भएको बताउछन् । मलेसियामा नेपाली रेस्टुरेण्ट व्यवसायीका रुपमा पहिचान बनाएका कृष्णबहादुरसँग गरिएको कुराकानीको सारसंक्षेप स्
यहाँ कहिलेदेखि मलेसियामा हनुहुन्छ,कसरी व्यवसायमा लाग्नुभयो ?
म मलेसियामा सन १९९५ देखि नै आएको हुँ । त्यो बेला लिगलरुपमा काम गर्ने भिसा खुलेको थिएन नेपालीहरुको लागि । त्यसैले म टुरिस्ट भिसामा आएको थिए । पछि यही काम गरेर बस्ने चाहना भएपछि यही इलिगलरुपमा बसे र यही काम गर्न शुरु गरे । त्यतिबेला निकै सघर्ष गर्नुपर्यो मैले शुरु–शुरुमा धेरै दुःख गरे । बुंगुर काट्ने कामदेखि अन्य विभिन्न कामहरु गरेर यही संघर्ष गरे र बिस्तारै मलेसियालाई बुझे । समयक्रममा यही केही गर्न सकिन्छ भन्ने महसुस भयो । त्यसपछि बिस्तारै आफुलाई मलेसियामा स्थापित गर्दै ब्याबसाय तिर अगाडि बढे ।
यहाँ कहिलेदेखि आफ्नै व्यवसायको थालनी गर्नुभयो त ?
मैले सन २००३ देखि मलेसियाको क्वालालम्पुर (कोतराया) मा व्यवसाय शुरु गरे । मैले शुरुदेखि नै थालनी गरेको व्यवसाय भनेको यही अहिलेकै व्यवसाय लालीगुराँस रेष्टुरेन्ट हो । व्यवसायमा सफलता मिल्दै जान थालेपछि भने यसलाइ विस्तार गरेर मलेसियाकै अन्य विभिन्न ठाँउहरुमा रेष्टुरेष्ट विस्तार गरेको छु । मलेसियामा आफ्नै एउटा पहिचान बनाएको छु र केहीलाई रोजगारी दिन सफल भएको छु । हिजोको दिनमा गरेको सघर्षले आज मलाई केही गर्नुपर्छ भन्ने सिकाएको छ । जसलाई मैले अरुलाई पनि यस्तो गर्नुपर्छ भनेर सिकाइरहेको छु ।
मलेसियामा कस्तो छ व्यवसाय र नेपाली व्यवसयीहरुको अवस्था ?
हेर्नुस, मलेसियामा सबैभन्दा बढी नेपाली कामदारहरु नै छन । यद्यपि, कामदारको रुपमा मलेसिया आएर पछि विस्तारै संघर्ष गर्दै गएपछि व्यवसायी बनेका नेपाली पनि धेरै छन । तर, नेपालबाट पैसा ल्याएर व्यवसाय गरेका कमै छन । सबैले शुरुमा काम गरेर, यहाँ राम्रोसँग भिजेर, राम्रोसँग अनुभव बटुलेर त्यसपछि मात्र व्यवसायी बनेकाहरुकै बाहुल्यता छ मलेसियामा । खासमा यहाँ नेपालीले गर्ने व्यवसाय भनेको नेपालीलाइ नै टार्गेट गरेर गर्ने हो । अन्य विदेशीलाइ टार्गेट गरेर गरिएको व्यवसाय यहाँ कमै छन । किनभने, जब मलेसियामा नेपालीलाई लिगल रुपमा खुला भयो नेपालीहरुको यहाँ आउने संख्या ह्वात्तै बढेर गएको थियो । त्यसैले गर्दा नेपालीले नेपालीहरुलाइ नै टार्गेट गरेर विभिन्न खाले व्यवसाय, विशेष गरी रेष्टुरेन्ट व्यवसायहरु सञ्चालन गर्दै आएको पाइन्छ ।
मलेसियामा धेरै नेपालीहरु छन् । तर, यहाँ अरु देशहरुमा भन्दा नराम्रा कामहरु हुन्छन भन्ने चर्चा छ नि ?
हो तपाइले भन्नुभएजस्तै मलेसियामा धेरै नेपाली कामदारहरु सँगसँगै नेपाली व्यवसायीहरु र नेपालीहरुले स्थापना गरेका विभिन्न खाले संघसंस्थाहरु पनि छन । संघसस्था खोलेर सामाजिक काम गर्नु राम्रै कुरा हो । तर, यहाँ संस्था खोलेर पदको दुरुपयोग गरेर आफ्नैले आफ्नैलाई लुटने, दुख दिने, नेपालीले नेपालीलाइ नै दुख दिने प्रवृत्ति तीब्र रुपमा बढेर गएको छ । यो गलत प्रवृति हो मलेसियामा खुट्टा तान्ने प्रवित्ति बढेर गएको छ यसको ज्वलन्त उदाहरण म पनि हु । यहाँ उन्नति गरेकोलाइ कसरी तल झार्ने भन्नेखाले संकुचित सोच र प्रवृत्तिले नै यस्तो क्रियाकलाप बढ्दै गएको हो । नेपालीहरु लोभीपापी र डाह गर्ने प्रवित्तिका हुने रहेछन भन्ने उदाहरण बनेको छ मलेसिया ।
यहाँमाथि पछिल्लो समय निकै आरोप र आक्षेप लागेको छ, गलत नै काम गर्नु भएको थियो कि ?
हो मैले भनिसके नेपालीहरुले एउटाले उन्नति गरेको देखिसहन सक्दैनन् । खुट्टा तान्न आइहाल्छन । मेरो रेष्टुरेन्टमा नक्कली रक्सी खुवाउने, कामदारहरु सबैलाइ जेल पठाएको आदिजस्ता समाचार पनि आए । त्यसमा मेरो घोर आपत्ति छ । किनभने, मैले नेपालबाट कामदार ल्याउनको लागि आफ्नै कम्पनीको कलिङ भिसा पाउँदा सकेसम्म आफ्नै मान्छेहरुलाइ अवसर दिउँ भनेर आफन्तहरु, गाँउलेहरु, छिमेकीहरु ल्याएर काम दिँदै आएको थिए । तर, सोही सिलसिलामा दुई जना मेरोमा काम गर्ने कर्मचारीहरुको केही गलत कार्यले गर्दा उनीहरु जेल परेका थिए । किन भने उनीहरुले मलेसियाको कानून विपरीत काम गरेकोले उनीहरु पक्राउ परे र छिट्टै छुट्दैछन् । उनीहरुलाइ म बारम्बार यहाँको कानुनअनुसार काम गर है भनेर भन्दै आएको थिए । त्यसमा म संचालकको कुनै गल्ती छैन । तर, उनीहरु मेरा आफन्त र कर्मचारी दुवै भएकाले मैले बारम्बार यहाँको कानुनको ढोका ढकढक्याउने काम गर्दै आएको छु । उनीहरु चाँडै कानूनी प्रक्रिया पूरा गरेर केहि दिनमै नेपाल आउदैछन बास्तबिकता के हो उहाहरुलाई नै सोध्नोस् न प्रस्ठ भईहाल्छ ।
मलेसियामा बस्ने नेपालीहरुको बारेमा केही बताइदिनुस न ?
मलेसियामा धेरै नेपालीहरु नेपालमा दुख पाएर, बेरोजगार भएर यहाँ दुख वा श्रम गर्न नै आउने हुन् र यहाँ आएर चरम सुख वा आनन्द पाउन आएका हैनन् । सोचेजस्तो भयंकर आम्दानी हुने पनि हैन । केही नेपालीहरु यहाँ आएर चोरी डकैतीजस्ता गलत कार्यमा लागेर कानुनीरुपमा सास्ती झेलिरहेका पनि छन । तर, प्रायजसो इमान्दार र लगनशील नेपालीहरुले यहाँ राम्रै गरीरहेका छन । साथै कतिपय नेपालीहरुलाई यहाँका गुण्डा लुटेराहरुले बाटैमा लुटिदिएर दुःख दिएर अलपत्र परेका पनि भेटिन्छन् भने कतिपय भने आफै जाँडरक्सी खाएर दुख पाएका पनि छन र त्यसरी दुःख पाएपछि कहाँ जाने त भन्दा नेपाली रेष्टुरेन्टहरु अर्थात हामीहरुकहाँ नै आउँछन् । हामीसँग गुनासो गर्दछन, म लुटिए, मेरो पैसा लुटयो, मेरो मोबाइल लुटयो आदि भनेर दुखेसो गर्छन । तब हामीले जे जति सकेको सहयोग गर्छौ र सकेको आर्थिक सहयोग पनि गरिरहेका छौ । केही दिन सुत्न दिन्छौं र खान पनि दिन्छौं ।
यहाँ सामाजिक कार्यहरुमा पनि क्रियाशील हुनुहुन्छ कि ?
म पहिलेदेखि नै सामाजिक मनोभावना भएको मान्छे हु । मैले यहाँ आएका आफ्ना देशबासी नेपालीहरु जस–जसले दुःख पाएका छन् । उनिहरुलाई जो जति सकेको उद्धार र सहयोग गर्ने गर्दै आएको छु । सकेको आर्थिक एवं अभिभावकत्वपूर्ण सहयोग पनि गर्दै आएको छु । सोही कार्यलाइ निरन्तरता दिनको लागि पाँचथर सम्पर्क मञ्च नामक संस्था स्थापना गरेर सो संस्थाको संस्थापक अध्यक्ष म स्वयं रहेर धेरै अलपत्र परेकाहलाइ, यहाँ आएर दुःख पाएका एवं मरेकाको लाश नेपाल पठाउने कार्यहरु गर्दै आएको छु । साथै, किराँत याकथुंग चुंग संस्थाको अध्यक्षमा रहेर पनि निरन्तर सामाजिक कार्यहरु गर्दै आएको छु । मान्छेलाइ सहयोग गरेपछि सम्झिने रहेछन । मलाई त्यसरी दुःख पाएका मानिसहरुले सधै सम्झिरहन्छन, मलाई पनि बहुत आत्मसन्तुष्टि हुन्छ ।
अन्तमा मलेसियामा रहेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
हामी रहरले विदेशीएका हैनौं । वाध्यताले आफ्नो देशमा रोजगारी नभएकोले विदेश आएका हौं । हामी सबैको एउटै कथा एउटै व्यथा हो । सबैले दुख सुखमा साथ दिउँ । सबै मिलेर बसौं, नेपालीले नेपालीलाइ नै दुःख दिने काम नगरौ, कसैको पनि खुट्टा तान्ने काम नगरौं भन्न चाहन्छु ।
हामी सबै नेपाली हौ र एउटाको दुख, पिडालाई हामी सबै नेपालीको दुख पिडा मान्नुपर्छ अनि सुखलाई पनि सेयर गर्नुपर्छ हामी नेपालीको मुल मन्त्र बिदेशमा दुखले आयआर्जन गरेको सम्पतीले स्वदेशमा केहि गर्नुपर्छ भन्ने हो बिदेशमा हामि सबै नेपालीहरु सहकार्य गरेर एउटै परिवार भएर बस्नुपर्छ ।
FACEBOOK COMMENTS