काठमाडौ, चैत ३१ – नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ले ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ । नेपालमा सन् २००९ मा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो । यद्यपी, यस वर्ष भने नेपाली नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा..धनन्जय रेग्मीले फल्याग अफ गरी उक्त कार्यक्रमको उद्घाटन गरे । फोकर रन काठमाडौँबाट पोखरासम्म हुनेछ । कार्यक्रममा रेग्मीले कोभिड–१९ का कारण पर्यटन क्षेत्र प्रभावित भएपनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनु पर्ने बताए ।
उनले यस प्रकारका कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुका साथै आन्तरिक पर्यटन चलायमान हुने बताए । ‘कोभिडको कारण अहिले अन्तरर्राष्ट्रिय पर्यटक आगमन कम भएको छ। सोहीकारण, यस्ता कार्यक्रम गरेर कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउनुपर्छ’, उनले भने ।
वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डेकाजीले पोकर रन जस्ता कार्यक्रमले युवाहरुलाई आर्कषित गरेको र यस प्रकारका कार्यक्रमले आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए । आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रुपमा समेत विकास हुदै गईरहकेको उल्लेख गरे ।
प्रतियोगितामा यस वर्ष १५० जनालाई मात्र सहभागी गराइएको छ । पोकर रनमा गतवर्ष ४०० जनासम्म सहभागीता थियो ।
FACEBOOK COMMENTS