काठमाडौं, वैशाख १२ – इन्जिनीयरहरुले वैशाख १८ गतेसम्म आफूहरुको माग पूरा नभए सामूहिक राजीनामा दिने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गर्दै यस्तो अल्टिमेटम दिएको हो ।
आज आइतबार पत्रकार सम्मेलन गरेर समितिले खाइपाइ आएको भत्ता र असार मसान्तसम्ममा सकिन लागेको समयसीमा थप गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो । कार्यक्रममा प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष इ.अविनाश अमरले सरकारसमक्ष प्राविधिकहरुको सकिन लागेको दरवन्दीको समयसीमा थप गर्न जोडदार माग गरे । प्राविधिकलाई राज्यले दायित्व भन्दा पनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने अमरको भनाई थियो । ‘प्राविधिकहरु खुशी भए सारा देश र जनताहरु खुशी हुन्छन्,’ अध्यक्ष अमरले भने, ‘सरकारले प्राविधिक चाहिँदैन भनेर दरबन्दी कटौती गर्नु दुःखद् कुरा हो ।’
यस्तै नेपाल इन्जिनीयरिङ एशोसियशनका आगामी ३३औं कार्यकारी समितिका महासचिव पदका प्रत्यासी महासचिव इ. डा. शंकर ढकालले ५ वर्ष भन्दा बढी कार्याअनुभव बटुलेका प्राविधिकहरुको सम्मान गर्नुपर्नेमा जोड दिए । प्राविधिकहरुलाई तिरस्कृत नगरेर उनीहरुले राखेका जायज माग पूरा गर्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी नेपाल इन्जिनीयरिङ एशोसियशनका आगामी ३३औं कार्यकारी समितिका अध्यक्ष पदका अर्का प्रत्यासी इ. डा. दिलिपकुमार झाले इन्जिनीयरिङ एशोसिएशनले पनि प्राविधिकहरुलाई स्थान दिन नसकेको बताए । प्राविधिकहरुले उठाएको मागहरुमा सरोकारवाला तथा एशोसियन पनि प्रतिबद्व हुनुपर्नेमा जोड दिए । उनले चुनावी एजेण्डा मात्र नभएर कार्यान्वयनतिरै लाग्नुपर्ने बताएका छन् ।
FACEBOOK COMMENTS