काठमाण्डौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई खसी, बोका र च्यांग्रा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ ।
दसैंको मुखमा राजधानी र अन्य मुख्य सहरमा खसी, बोका, च्यांग्रा, कुखुरा लैजाने क्रममा स्थानीय तहहरूले कर उठाउन थालेको गुनासो आएपछि मन्त्रालयले बिहीबार त्यस्तो निर्देशन दिएको हो ।
संघीय मामिला मन्त्रालयको सचिवस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरिएको हो ।
खसी, बोका काठमाडौंमा ल्याउँदा चन्द्रागिरि नगरपालिकाले व्यवसायीसँग कर उठाएको प्रमाणसहित चौपाया खरिद–बिक्री सेवा संघले त्यसलाई रोक्न माग गर्दै संघीय मामिला मन्त्रालयमा ज्ञापनपत्र दिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ मा ‘जीवजन्तु र चौपायाको व्यापार–व्यवसाय गर्नेबाट व्यवसाय कर वा हाटबजारमा खरिद–बिक्री भएको अवस्थामा बाहेक अन्य कुनै किसिमको कर, शुल्क आदि उठाउन नमिल्ने’ व्यवस्था छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS