काठमाडौं, ३ चैत्र – नेकपा एमालेका सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख याेगेश भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार ललितपुरमा गरिएको पत्रकार सम्मेलनपछि केन्द्रविन्दुसँग कुरा गर्दै नेता भट्टराईले आफूहरू स्वेच्छिक रूपमा कार्यकर्ता भेलामा जुटेको र यस विषयमा अध्यक्ष ओलीको जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए।
एमाले अध्यक्ष ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा पार्टी नेतृत्वविरुद्ध आफूखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिएका थिए। त्यस्ता भेलामा सरिक भए कारवाही समेत गर्नसक्ने उनको चेतावनी थियो।
उक्त प्रसंगलाई केन्द्रमा राखेर गरिएको प्रश्नमा नेता भट्टराईले पार्टी अध्यक्ष ओलीलाई शक्ति र धम्कीको भाषा प्रयोग नगर्न तथा अहँकारको भाषा प्रयोग नगर्न सुझावसमेत दिएका थिए ।
कुनै कारबाहीले पार्टीभित्रको समाधान नहुने बताउँदै नेता भट्टराईले भने, ‘राजनीतिक दल भनेको राजनीतिक एजेन्डाले बन्छ, यहाँ कसले कसलाई कारबाही गर्ने? त्यसैले त्यो उहाँको धम्कीपूर्ण भाषा हो।’
अध्यक्ष ओलीले कारबाही गर्न चाहेकै हो भने आफूहरू स्वयंले पनि त्यसमा सहयोग गर्ने भन्दै नेता भट्टराईले व्यंग्यात्मक शैलीमा भने,‘कारबाही गर्नुहोस, हामी लामबद्ध छौं। हामी स्वेच्छले यहाँ उभिएका छौं। कतिजनालाई कारबाही गर्न मन छ गर्नुहोस्, हामी सहयोग गछौं,’ उनले आफूपक्षीय गुट बलियो रहेका संकेद गर्दै थपे, ‘देशभर एमालेका करिब आठ लाख पार्टी सदस्यमध्ये ४/५ लाखको संख्या हाम्रो पक्षमा हुनुहुन्छ र, उहाँहरूको लिस्ट हामी आफैं पठाउँछौं। उहाँहरू सबैलाई कारबाही गर्नुहोस्, हामी सहज बनाइदिन्छौं।’
नेता भट्टराईले पार्टी अध्यक्षलाई चुनौती दिँदै भने, ‘हामी त्यो सबै रेकर्ड पठाइदिन्छौं, उहाँले टुँडिखेलमा राखेर मृत्युदण्ड दिनुहुन्छ कि, फाँसी चढाउनुहुन्छ कि, के गर्नुहुन्छ गर्नुहोस्।’
अन्त्यमा नेता भट्टराईले आफू कुन अवस्थामा गुज्रिरहेको छु, र, इतिहासको यस गम्भीर कठघरामा उभिएर कठिन परीक्षाको सामना गर्नसक्ने सामर्थ्य भने अध्यक्ष ओलीले राख्नुपर्ने बताए।
भोलि इतिहासले अध्यक्ष ओलीमाथि नै कारबाही गर्यो भने त्यो समय अध्यक्ष स्वयंका पक्षमा आँसु चुहाउने मान्छे हुन्छन् कि हुँदैनन्, त्यस बारेमा पनि हेक्का राख्न नेता भट्टराईले सुझाएका छन्।
FACEBOOK COMMENTS