काठमाडौं, मंसिर २८ – अपि पावर कम्पनी लिमिटेडको सर्वसाधारण समूहको अवितरित हकप्रद लिलामीमा विक्री हुने भएको छ । कम्पनीले सर्वसाधारण तर्फको १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको हो ।
कम्पनीले कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म विक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेपछि उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो ।उक्त शेयर खरीदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS