काठमाडौं, माघ १- आज माघ एक गते अर्थात माघे सङ्क्रान्ति । आज देशभर हर्षोउल्लासका साथ माघे सङ्क्रान्ति मनाइँदै छ।
विभिन्न भाषाभाषी र समुदायले यस पर्वलाई मनाउने भएकाले आफ्नै सङ्स्कृतिअनुसार यस पर्वको नामहरु पनि फरक–फरक छन् । नाम फरक भए पनि यस पर्वलाई अधिकांश नेपाली समुदायले विशेष पर्वको रुपमा मान्दछन् ।
थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।
सामान्यतया सूर्यले १२ वटा राशिलाई नै प्रभाव पार्ने भए पनि कर्कट र मकर राशिमा सूर्य प्रस्थान गर्ने दिनलाई चाहिँ विशेष मानिन्छ । साउन १ गतेका दिन सूर्य कर्कट राशिमा प्रवेश गर्दछ । यस दिनबाट नै सूर्य दक्षिणी गोलार्धतिर लाग्ने भएकाले यसबेलादेखि दक्षिणायन सुरु हुन्छ । यस दिन लुतो फाल्ने, कण्डारक पूजा गर्ने आदि विभिन्न संस्कृतिहरु छन् ।
यही सूर्य नै माघ १ गतेबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुन्छ । योगी तथा सन्यासीहरु उत्तरायणको समयमा नै शरीर त्याग्न चाहन्छन् ।महाभारतका प्रसिद्ध पात्र भीष्म पितामहले पनि यही समयमा प्राण त्यागेका थिए ।
यस दिन विभिन्न नदी, तलाउ तथा खोलाहरुमा गई स्थान गर्ने तथा मठमन्दिरमा पूजाअर्चनासमेत गर्ने चलन छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।
भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यसदिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने उल्लेख छ।
तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
FACEBOOK COMMENTS