काठमाडौं, बैशाख १९ – आज मे १ अर्थात १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोभिड–१९ को कारण जारी गरिएको लकडाउनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।
औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँने गरिन्छ ।नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
FACEBOOK COMMENTS