काठमाडौं,फागुन १६- यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा रू. १ अर्ब लगानी गर्ने भएको छ । टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले नेपाली पश्मिना र कफी क्षेत्रको उत्पादन प्रवद्र्धनमा सहयोग गर्ने बताएको हो ।
सहयोग राशिमध्ये अन्तरराष्ट्रिय व्यापार केन्द्रले रू. ६२ करोड ६१ लाख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालस्थित यूरोपेली संघको कार्यालयले संयुक्त रूपमा रू. ३७ करोड ५७ लाख खर्च गर्नेछन् ।
अन्तरराष्ट्रिय व्यापार केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ईयूले नेपाली कफी र पश्मिना क्षेत्रमा उत्पादनदेखि बजार पहुँचसम्मको कार्यक्रममा लगानी गर्ने बताएको हो । ईयू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बीचको साझेदारीमा उक्त कार्यक्रम कार्यन्वयनमा आउनेछ ।
ईयूले नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा सुधार ल्याउन यस्तो लगानी गरेको बताएको छ । नेपालको कृषि क्षेत्रअन्तर्गत पश्मिना र कफी उत्पादन गर्ने अति सूक्ष्म, साना र मझौला उद्योगमा यो लगानी गरिने बताइएको छ । ईयूले यस्तो लगानी यसअघि घाना, केन्या, लाओस, पेरु र भियतनाममा पनि गरिसकेको छ ।
कार्यक्रमले आगामी २ वर्षभित्र किसानलाई उद्यमसम्बन्धी ज्ञान दिने कोचिङ कार्यक्रम पनि गर्ने बताइएको छ । कफी र पश्मिनाको उत्पादन, त्यसको गुणस्तर कायम र वैदेशिक निर्यात गरी उत्पादनदेखि विक्रीसम्मको पूर्ण प्याकेजमा उक्त कार्यक्रम लागू गर्ने मन्त्रालका सचिव वैकुण्ठ अर्यालले बताए । उनका अनुसार यो रकम कृषकको क्षमता विकास, कफी र पश्मिनाको गुणस्तर र मात्राको उत्पादन वृद्धि र वैदेशिक निर्यातको क्षेत्रमा खर्च गरिनेछ । यस कार्यक्रममार्फत नेपाली उद्यमीको सक्रियता बढाई गुणस्तरीय वस्तु उत्पादन गरी सरकारले वैदेशिक निर्यातसम्ममा सहयोग गर्ने मन्त्रालयका सचिव अर्यालले बताए । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS