साउन ११ – उत्तर कोरियामा पहिलो पटकका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उत्तर कोरियाको समाचार संस्था केसिएनएले गएको हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।
३ वर्षअघि देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए । संक्रमण पुष्टि भएपछि नेता किम जोङ्ग–उनले उच्च अधिकारीसँग बैठक गरेका छन् ।
उनले केइसोङ्ग शहरसँग जोडिएको सीमा क्षेत्रमा लकडाउन लागु गरेको केसिएनएलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिसम्म उत्तर कोरियाले आफ्नोमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताएको थियो, तर विश्लेषकले भने सो कुरा सत्य नरहेको बताउँदै आएका थिए ।
शनिबार भएको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चतम तहको आपतकालीन अवस्था लागु गर्न आदेश दिएको जनाइएको छ । यस्तै संक्रमण देखिएका व्यक्ति कडा सीमा सुरक्षाबीच कसरी स्वदेश प्रवेश गरे भन्नेबारे अनुसन्धान गर्न पनि किमले आदेश दिएका छन् ।
FACEBOOK COMMENTS