काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उत्तर कोरीयाका राजदुत किम योङ हकलाई नेपालमा गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास भित्र्याउन आग्रह गरेका छन् ।
उनले शुक्रबार कोरीयाका राजदुत हकसँगको भेटमा उत्तर कोरीयाले उक्त क्षेत्रमा नयाँनयाँ प्रविधिको विकास गरीरहेकोले त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन अाफू इच्छुक रहेको बताएका हुन् ।
गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरीयाले अमेरीका र दक्षिण कोरीयासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेका छन् । उनले देशभक्तिको लागि उत्तर कोरीया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरेका छन् ।
राजदुत हकले नेपाल र उत्तर कोरीयाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालमा रोजगारीका लागि आउने कोरीयाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटीलो हुँदा समस्या रहेको बताएका छन् ।
जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने बताएका छन् ।
FACEBOOK COMMENTS