जमुना भण्डारी
काठमाडौं,मंसिर १० – के तपाई व्यापार व्यवसाय अथवा घरजग्गा खरिदका लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? यदि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ भने एकपटक कुन बैंकमा कति आधारदर छ भन्ने कुरा जानी राख्नुहोस् । ऋण लिने जो कोहीले सकेसम्म ऋणको ब्याजदर सस्तो परोस् भन्ठान्छ । यसका लागि त्यस बैंकको आधार दरमा निर्भर रहन्छ।
आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिँदा सस्तो वा महंगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ । सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋणको ब्याजदर पनि सस्तो पर्न जान्छ। यसले गर्दा ऋणीलाई केहि सहज हुन जान्छ ।
वाणिज्य बैंकहरुले हालै जारी गरेको चालू आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको आधार ब्याजदर घटेको छ । लामो समयदेखि तरलता अभाव झेलिरहेका बैंकहरुले यसको समाधान गर्न नसकेता पनि आधार ब्याजदर भने घटाएका हुन् ।
आर्थिक वर्षको पहिलो त्रैमासमा २८ वाणिज्य बैंकहरुको औसत आधार दर ९.५८ प्रतिशत छ। यदि तपाई वाणिज्य बैंकहरुबाट ऋण लिने हो भने सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको आधारदर ६.६० रहेको छ । त्यसै गरी सरकारी लगानीका बैंकमा सबैभन्दा महंगोचाहीँ कृषि विकास बैंकको व्याजदर रहेको छ । कृषि विकास बैंकको आधारदर १०.१८ रहेको छ ।
त्यसै गरी आधार दर कम भएका निजी लगानीका वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर र नबिल बैंक रहेका छन् । स्ट्यान्डर्ड चार्टर बैंकको आधार दर ७.६३ रहेको छ भने नविल बैंकको आधार दर ७.९४ रहेको छ । सरकारी बैंकमा नेपाल बैंकको आधारदर पनि ७.८४ मात्र रहेको छ ।
चालू आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण अनुसार तीन बैंकको आधारदर ९ प्रतिशत भन्दा कम रहेको छ । इन्भेष्टमेन्ट, एभरेष्ट र हिमालयन बैंकको आधार ब्याजदर ९ प्रतिशत भन्दा कम रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ८.४८ छ भने एभरेष्ट र हिमालयन बैंकक्रमश ८.५२ र ८.९३ रहेको छ । यी बैंकहरु पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरुको सूचीमा पर्दछन् ।
ब्याजदरको हिसाबले १० प्रतिशतभन्दा कम ब्याजदर मा ऋण दिने बैंकहरुमा सानिमा, प्राइम, सनराइज, एनआइसी एसिया, ग्लोबल आइएमई, एसबिआई र नेपाल बंगलादेश बैंक पर्दछन् । यी बैंकहरुलाई मध्यम स्तरको बैंकको रुपमा लिइन्छ । यी बैंकको आधार व्याजदर क्रमश ९.२१,९.६७, ९.९७, ९.५१,९.४४, ९.९४,९.८४ रहेको छ ।
कर्जा लगानीमा महँगो ब्याजदर लिने बैंकहरुले आफ्नो आधारदर १० प्रतिशतभन्दा बढी राखेका छन् । यस्ता ब्याजदर हुने बैंकहरुलाई महँगो बैंकका रुपमा लिइन्छ । त्रैमासिक वित्तीय विवरण अनुसार १३ वटा वाणिज्य बैंकहरुको आधार ब्याजदर १० प्रतिशतदेखि ११ प्रतिशतसम्म रहेको छ । ती बैंकहरुमा सिद्धार्थ, बैंक अफ काठमाण्डू, जनता, कृषि विकास, मेगा, लक्ष्मी, एनएमबी, माछापुच्छे, कुमारी, सिटिजन्स्, सेञ्चुरी कर्मशियल, एनसीसी र सिभिल बैंक रहेका छन् ।
१० प्रतिशत भन्दा बढी आधारदर हुने बैंकमा सबै भन्दा बढी सिभिल बैंकको रहेको छ । सिभिल बैंकको आधारदर ११.११ रहेको छ । त्यसै गरी सिद्धार्थ र बैंक अफ काठमाण्डूको समान १०.०२ रहेको छ भने जनताको १०.१३, कृषि विकास बैंकको १०.१८, लक्ष्मीको १०.२४ रहेको छ । सिटिजन्स्को १०.५६, मेगाको १०.१९, कुमारीको १०.६८, माछापुच्छेको १०.५६, एनसीसीको १०.७७, एनएमबीको १०.३३ सेन्चुरीको १०.४५ रहेको छ ।
बैंकहरुको औसत नाफा २० प्रतिशतभन्दा धेरैले बढेको छ । व्यवसाय विस्तारलाई तीव्र बनाएका केही कम्पनीले डेढ सय प्रतिशतसम्म नाफा बढाएका छन् । गत वर्षको चैतसम्ममा ३८ अर्ब ६ करोड नाफा गरेका वाणिज्य बैंकहरुले चालू आवको सोही अवधिमा ४५ अर्ब ६६ करोड नाफा कमाएका छन् ।
बैंकहरुको आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार बैंकहरुले न्यूनतम शून्य प्रतिशतदेखि अधिकतम् ८ प्रतिशतसम्म थप प्रिमियम जोडेर कर्जाको ब्याज हिसाब गर्ने गर्दछन् ।
कुन बैंकको आधार दर कति ?
बैंक | आधार दर (२०७६ असोज) | |
राष्ट्रिय वाणिज्य | ६. ६० | |
कृषि विकास | १०. १८ | |
नेपाल बैंक | ७. ८४ | |
नविल | ७. ९४ | |
इन्भेष्टमेन्ट | ८. ४८ | |
प्रभु | ९. २४ | |
एनआइसी एसिया | ९. ५१ | |
एनएमबि | १०. ३३ | |
हिमालयन | ८. ९३ | |
एभरेष्ट | ८. ५२ | |
ग्लोबल आइएमई | ९. ४४ | |
सानिमा | ९. २१ | |
प्राइम कमर्सियल | ९. ६७ | |
एसबिआई | ९. ९४ | |
स्टान्डर्ड चार्टड | ७. ६३ | |
माछापुच्छ्रे | १०. ५६ | |
सनराइज | ९. ९७ | |
सिद्धार्थ बैंक | १०. ०२ | |
बैंक अफ काठमाण्डू | १०. ०२ | |
नेपाल बंगलादेश | ९. ८७ | |
लक्ष्मी | १०. २४ | |
मेगा | १०. १९ | |
सिटिजन्स | १०. ५७ | |
कुमारी | १०. ६८ | |
सेन्चुरी | १०. ४५ | |
जनता | १०. १३ | |
एनसिसी | १०. ७७ | |
सिभिल | ११. ११ |
FACEBOOK COMMENTS