काठमाण्डौँ — विश्वको तेस्रो अग्लो हिमाल (८,५८६) कञ्चनजंघा आरोहणका लागि ३३ विदेशी सहितको टोली आधार शिविर पुगेको छ ।
दुई आरोही टोली त्यहाँ पुगेका हुन् ।
उनीहरूलाई गाइड गर्ने नेपाली शेर्पा, कुक, भरिया र बाटो बनाउनेसमेत गरी एक सयभन्दा बढीले चेइराममा बासको बन्दोबस्ती मिलाएका छन्।
आरोहणका लागि यसअघि नै पुगेका शेर्पाहरूले दोस्रो शिविरसम्मको बाटो बनाइसकेको र अहिले तेस्रो शिविरसम्मको बाटो बनाउने काम भइरहेको पिक प्रमोसन प्रालिका प्रबन्ध निर्देशक बाबु शेर्पाले बताए।
यो वर्ष पिक प्रमोसनले २३ जनालाई आरोहण गराउने तयारी गरेको छ।

जसमा भारतलगायत मुलुकका आरोही छन्। अर्को सेभेन समिट प्रालिले १० जनाको टोली पठाएको छ।

त्यहाँ निजी कम्पनीले १५ शेर्पालाई यसअघि नै बाटो बनाउन पठाएका छन्। गत वर्ष ३९ जनाले कञ्चनजंघाको आरोहण गरेको पर्यटन व्यवसायीको दाबी छ।

सामान्यतया अगाडि तयारी गर्ने र वैशाखको अन्तिमदेखि जेठको पहिलो सातासम्ममा आरोहण गरिन्छ।
— कान्तिपुर