काठमाडौ । काठमाडौंको बुढानीलकण्ठमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड आइबिस स्टाइल्सको ९२ कोठाको होटल सञ्चालनमा आउने भएको छ।
होटल व्यवसायी तथा होटल सब्रिना लिमिटेडका अध्यक्ष निराजन थापाले होटल विकास तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय होटल समूह एकोरसँग साझेदारी गरेका हुन्।
थापा र एकोर समूहअन्तर्गतको एएपीसी इन्डिया होटल म्यानेजमेन्ट कम्पनी प्रालिबीच प्रस्तावित होटलको विकास तथा व्यवस्थापनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यो थापाको एकोर समूहसँगको दोस्रो होटल परियोजना हो। यसअघि नै उनको नेतृत्वमा होटल सब्रिना लिमिटेडअन्तर्गत एकोरको प्रिमियम लाइफस्टाइल ब्रान्ड ट्राइब काठमाडौं होटल परियोजना अघि बढाइएको छ।
१०१ कोठाको प्रस्तावित ट्राइब काठमाडौं होटलमा क्यासिनोसहित आधुनिक आतिथ्य तथा जीवनशैलीसम्बन्धी विभिन्न सुविधा रहनेछन्। उक्त होटल सन् २०२७ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

दुवै परियोजना सम्पन्न भएपछि थापाको नेतृत्वमा एकोर समूहका दुई फरक अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत कुल १९३ कोठा थपिनेछन्।

अन्तर्राष्ट्रिय होटल ब्रान्डको विस्तारसँगै नेपालको आतिथ्य क्षेत्रमा विदेशी व्यवस्थापकीय अनुभव, अन्तर्राष्ट्रिय सेवा मापदण्ड तथा विश्वव्यापी बजारीकरण सञ्जालको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

यी परियोजनाले नेपालको होटल तथा पर्यटन क्षेत्रमा लगानी, रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

बुढानीलकण्ठमा प्रस्तावित आइबिस स्टाइल्स होटलको कुल लगानी, निर्माण अवधि तथा व्यावसायिक सञ्चालनको लक्ष्यबारे भने उपलब्ध विवरणमा उल्लेख गरिएको छैन।