नेपाली विद्यार्थी बुझेर वा नबुझी उसको सपना हुन्छ विदेश पढ्न जाने । प्लस टु सकिएपछि विद्यार्थी कुन विषय पढ्न कुन देश जाने भन्ने ध्याउन्नमा हुन्छ । धेरै विद्यार्थीलाई नेपालमा भन्दा सेवा सुविधा पनि धेरै , व्यवहारीक शिक्षा भनेको विदेशमै मात्र भन्ने हेतुले पनि विदेश जाने विद्यार्थीको संख्या बढेको बढै छ । के नेपालमा पनि विदेशी पढ्न आउन सक्दैनन भन्ने पनि चासो को विषय भएको छ । यसै सम्बन्धी हामी इक्यान कार्यसमिति सदस्य तथा इङ्गिलस काउन्सिलकी सञ्चालक सुनिता था श्रेष्ठ संग कुराकानी गरेका छौ ।
यति धेरै एडुकेसन कन्सलटेन्सी किन आवश्यक छ ?
विश्व धेरै अगाडि बढी सक्यो तर नेपालको शिक्षा प्रणाली अझै पुरातनवादी नै छ । विश्व नयाँ प्रविधीको माध्यमबाट यति धेरै अगाडि बढी सक्यो कि इन्टरनेटको माध्यमबाट विद्यार्थीले नयाँ पद्घति, शिक्षा र आविष्कारको सूचना तुरुन्तै थाहा पाउन सक्छ र उसले पनि त्यो शिक्षा ग्रहण गर्न चाहान्छ । हालको अवस्थामा नेपालमा विद्यार्थीले चाहेका सबै विषय पनि पढाई नहुने भएकाले विद्यार्थी विदेश जान्छ । साथसाथै, कतिपय अवस्थामा नेपालमा इन्डिपेन्डेन्ट रिसर्च गर्ने कल्चरको विकास पूर्ण रुपमा भैनसकेको अवस्थामा छ । त्यसकारण कन्सलटेन्सीको आवश्यक परेको हो जहाँ विद्यार्थी तथा अविभावकले विदेश जादाँका प्रकिया तथा व्यवस्थाका विषयमा जानकारी लिन सकिन्छ । विदेश गएर कसरी व्यवस्थित हुन सकिन्छ भन्ने जस्ता कुराको लागि नेपालमा अझै पनि एडुकेशन कन्सलटेन्सीको आवश्यकता छ ।
कन्सलटेन्सीले विदेशी विद्याथी नेपाल ल्याउन सक्दैन ?
कन्सल्टेन्सीे विदेशी विद्यार्थी नेपाल ल्याउने माध्यम बन्न सक्छ । अहिले पनि विदेशी विद्याथी त्रिभुवन विश्वविद्यालयमा देख्न सकिन्छ । नेपालको वायोलोजी , सँस्कृति, इतिहास तथा जलस्रोत जस्ता विषय पढ्न धेरै विद्यार्थी आउने गरेका छन् तर हामीले हाम्रो नेपालको बारेमा विदेशमा बताउन तथा विज्ञापन गर्न सक्यो भने हाम्रो देशमा पनि रोचक विषयहरु छन् । तर अहिले सम्म सरकारले पूर्ण रुपमा व्यवस्थित गरेको छैन । विदेशी विश्वविद्यालय तथा संस्थाले जस्तै नेपालका सरोकार राख्ने निकायले पनि हामीलाई पूर्ण रुपमा सू–सूचित गरेको खण्डमा र व्यवसायिक रुपमा जानकारीहरु इन्टरनेटमा राखी प्रवद्र्घन गरेको खण्डमा विदेशी विद्यार्थी पनि नेपालमा पढ्नका लागि आउन सक्छन् ।
विद्यार्थीहरुले कसरी कन्सलटेन्सी छान्ने ?
विद्यार्थीले सर्वप्रथमछान्दा शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त गरेको छ कि छैन भन्ने कुरा ख्याल गर्नु पर्छ । दोस्रो, इक्यान जस्ता छाता सँगठनसँग आवद्ध छ कि छैन भन्ने पनि हेर्नुपर्छ । नेपाल सरकारको शिक्षा मन्त्रालय तथा नियमन गर्ने सँगठनसँग आवद्घता छैन भने त्यस्तो सँस्था भरपर्दो हुनसक्दैन । कसैको अगाडी जवाफदेहीता नराख्ने कन्सलटेन्सीबाट ठगिने सम्भावना धेरै हुन्छ । कसैले भिषा ग्यारेन्टी भन्ने गरेको छ भने यस्ता कन्सल्टेन्सीबाट टाढिनु नै उपयुक्त हुन्छ । व्यवसायीको नैतिकताको पनि ख्याल राख्नुपर्छ ।
कन्सलटेन्सी व्यवसायमा पनि महिला एकदम कम देखिन्छन् किन ?
महिलालाई हरेक क्षेत्रमा दोहोरो जिम्मेवारी छ, हाम्रो समाजमा । आफ्नो व्यक्तिगत र व्यवसायिक जिवनसँगै पारिवारिक तथा सामाजिक दायित्वका कारण धेरैजसो महिलाहरु अगाडि आउन सकेका छैनन् । यी सबैका बावजुत पनि यो व्यवसायमा महिलाले स्फूर्त रुपमा आफ्ना व्यवसायहरु अगाडी बढाईराख्नु भएको छ । त्यो सम्मानयोग्य छ । विस्तारै यो संख्या बढ्ने क्रममा छ । यो खुशीको विषय हो ।
कुन देशमा विद्यार्थीको चाप धेरै छ ?
हामी अमेरीका, जापान तथा युरोप, जाने विद्यार्थीलाई परामर्श सेवा दिन्छौं तर अहिले हामीकहाँ सबै भन्दा धेरै अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु आउने गरेका छन् । कोही विद्यार्थी लहलहैमा त कोही राम्रो सोध–खोज गरेर कुनै देश जाने भनेर हाम्रो सेवाको लागि आउँछन् । जुन अवस्थामा पनि हामी विद्यार्थीलाई उसको सम्पूर्ण वस्तुस्थिति जस्तै विषय, बौद्घिक तथा भाषिक क्षमता, आर्थिक पक्ष इत्यादि अनुरुपको उपयुक्त देश जान सल्लाह दिन्छौं । विद्यार्थीको निर्णय बमोजिम त्यो देशको वस्तु स्थिती , त्यहाँको कानुन , प्रक्रिया आदि लगायतको जानकारी हामी दिन्छौ । कोहि विद्यार्थी हल्लाको भरमा पनि यो देश जाने भनेर आएको हुन्छ ।
FACEBOOK COMMENTS