काठमाडौं -आज दिनभर व्यवसायीहरु कर संबन्धी एक सुचनाले आन्दोलित र आतंकित भएका छन् । उनीहरु आतंकित र आन्दोलित बन्नुको एउटै कारण थियो अन्तरिक राजस्व विभागको सुचना । किनकी, अन्तरिक राजस्व विभागले आजै मात्र सार्वजनिक सुचना प्रकाशित गरी जेठ २५ गतेभित्रमा कर तिर्न ताकेता गरेको छ । विभागले जेठ २५ भित्रमा मूल्य अभिबृद्धि कर ९भ्याट०, अन्तशुल्क, आयकर तथा शिक्षा सेवा शुल्क तिर्न ताकेता गरेको हो । सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि चैत मसान्तभित्रमा बुझाउनु पर्ने यस्ता करहरु जेठ २५ सम्म तिर्दा हुने व्यवस्था मिलाइएको जानकारी गराएको थियो ।साथै, जेठ २५ गतेभित्रमा कर नतिरी सोभन्दा पछि कर तिर्दा जरिवाना तथा हर्जाना लाग्ने उल्लेख गरेको छ ।
सरकारले चैत मसान्तभित्रमा बुझाइसक्नुपर्ने र त्यसपछि पनि बुझाउनु पर्ने कर तिर्ने समय थप गरेर जेठ २५ गतेसम्म पुर्याउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा विभागले कर तिर्न आउने व्यहोराको सुचना जारी गरेको हो । अद्यापी लकडाउन जारी रहेको अवस्थामा कर तिर्न आउ भनेको भन्दै व्यवसायीहरु थप पिरोलिन पुगेका छन् । आय आर्जन नै नभएर थाल खाय न भात खाउँको स्थितीमा रहेका व्यवसायीले राहत महशुश गर्न नपाईरहेको अवस्थामा उक्त सुचनाले थप आक्रोशित तुल्याएको हो । संचार माध्यम, सामाजिक संजाल र अनौपचारिक फोरम मार्फत व्यवसायीहरुले कर संबन्धी सुचनालाई राज्य आतंकको संज्ञा दिएका छन् ।