काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले प्रस्तावित विशेष महाधिवेशनको विपक्षमा संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्ष निकट भ्रातृ संगठनहरूले यस्तो अपील सार्वजनिक गरेका हुन् ।
संयुक्त वक्तव्यमा वर्तमान राजनीतिक र सामाजिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै देश र जनतालाई संकटमुक्त गर्न पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।
साथै, कांग्रेस सभापति, पदाधिकारी तथा केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदै नियमित महाधिवेशनको मिति वैशाख २८ देखि ३१ गतेसम्म तोकिइसकेको र फागुन २१ गते आम निर्वाचन समेत हुने सन्दर्भमा पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको भनिएको छ ।
वक्तव्यमा यो संवेदनशील समयमा सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई संयमित, जिम्मेवार र सहअस्तित्व स्वीकार गर्दै सहमतिका माध्यमबाट अघि बढ्न आग्रह गरिएको छ।


FACEBOOK COMMENTS