काठमाडौं, मंसिर ८ – काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भाव्यता अध्ययनका लागि मंगलवार काठमाडौंमा आउने भएको छ । उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरू अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयअन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव गोपाल सिग्देलले टोलीमा २१ जना हुने जानकारी दिए । उनका अनुसार निकै चर्चा पाएको काठमाडौं–स्याफ्रुबेसी सुरुङमार्गको अध्ययन भने मन्त्रालयको कार्यतालिकामा छैन । उनले भने, ‘चिनियाँ राष्ट्रपति आउँदा उक्त सुरुङमार्ग अध्ययनका लागि अर्थ मन्त्रालयसँग समझदारी (एमओयू) भएकोले मन्त्रालयलाई जानकारी आएको छैन ।’
गत असोज २६ गते नेपालको राजकीय भ्रमणका आएका चीनका राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन शुरू गरिने घोषणा गरेका थिए । सोहीअनुसार काठमाडौं–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आउने भएको हो ।
यसअघि गत वर्षको भदौमा चीन सरकारकै सहयोगमा काठमाडौं–केरुङ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भएको थियो । रेल विभागका अनुसार उक्त अध्ययनले सरकारले वार्षिक रू। २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने आवश्यकता देखाएको थियो । पूर्व सम्भाव्यता अध्ययनले भौगोलिक जटिलता व्यापक देखाए पनि उच्चतम प्रविधिको प्रयोगबाट उक्त रेलमार्ग निर्माण गर्न सकिने उल्लेख गरेको थियो ।
सो प्रारम्भिक अध्ययनले वार्षिक रूपमा उक्त लगानी गरेमा ९ वर्षमा नै रेलमार्ग निर्माण सम्पन्न गर्ने आधार देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार नेपाली भूभागमा उक्त रेलमार्गअन्तर्गत करीब ७२ दशमलव २५ किलोमिटर (किमी) निर्माण गर्नुपर्छ । साथै, अध्ययनले ९ वर्षमा सो रेलमार्ग निर्माण गर्न रू। २ खर्ब ५७ अर्ब लगानी आवश्यक हुने देखाएको छ । २०७५ वैशाखदेखि काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन थालिएको थियो । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS