काठमाडौं, साउन २७ – काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो छ।पछिल्लो २४ घण्टामा थप १३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। काठमाडौंका ११० , भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबार मात्रै थप ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको हो ।
प्रवक्ता गौतमका अनुसार ७ हजार २०१ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्। जसमध्ये प्रदेश १ मा ५३९ जना, प्रदेश २ मा ३३४७ , बागमती प्रदेशमा १३५२, गण्डकी प्रदेशमा २२४ , प्रदेश ५ मा ६४६ , कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ८९६ जना गरी कुल७ हजार २०१ जना सक्रिय बिरामी रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७१ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १६ हजार ६ सय ६४ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५८ पुगेको छ भने आइसोलेसनमा ७ हजार २०१ जनाको उपचार भइराखेको छ ।
FACEBOOK COMMENTS