काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा आज आइतबार नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । उनीहरूलाई अहिले भद्रकालीस्थित परिसरको हिरासतमा राखिएको छ ।
एसपी बोहराका अनुसार प्रदर्शनस्थल नारायणचौरबाट निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि थापासहितलाई पक्राउ गरिएको हो । आन्दोलनको अगुवाइ गरेका थापाले भीडलाई उक्साउँदै बालुवाटारतर्फ अगाडि बढ्न भनेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘उहाँ (कमल थापा) सहित पाँच जनालाई नियन्त्रणमा लिएर परिसरको हिरासतमा राखेका छौँ । निषेधित क्षेत्र तोडेर बालुवाटारतिर अगाडि बढ्न खोजेपछि नियन्त्रणमा लिएका हौँ,’ एसपी बोहराले कर्पोरेट खबरसँग भने ।
राजावादीहरूले जेठ १५ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरूको आन्दोलनको आज चौथो दिन हो ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले गरेको यो आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहहरूको समर्थन छ ।
FACEBOOK COMMENTS