सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्ने तथा निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने हो भने नेपाल पनि औषधि उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । ‘गूड म्यानुफ्याक्चरिङ’ लाइसेन्स लिएर लामो समयदेखि औषधि उत्पादनको क्षेत्रमा आफूलाई सशक्त बनाउ“दै आएको एसियन फर्मास्युटिकल्स फर्माले सोलार, एनिमल केयर र नाइसा डिभिजनमार्फत सयौं प्रकारका औषधि उत्पादन गर्दै आएको छ । प्रस्तुत छ, कार्डियोसम्बन्धी समेत औषधि उत्पादनको तयारी गरिरहेको एसियनले के–कस्ता औषधि उत्पादन गर्दैछ भन्नेलगायत विषयलाई समेटेर कर्पोरेट खबरले एसियन फर्मास्युटिकल्स, भैरहवाका अध्यक्ष तथा प्रवन्धनिर्देशक,हुतानन्द खनाल गरेको कुराकानी ः–
नेपालमा औषधि उत्पादनको अवस्था कस्तो छ ?
पछिल्लो समयको कुरा गर्नुहुन्छ भने नेपालमा औषधि उत्पादनको अवस्था त्यति राम्रो वा पहिलाजस्तो छैन । किनभने हामी विश्वव्यापी कोभिड–१९ महामारीसँग जुधिरहेको अवस्थामा अत्यावश्यकबाहेक अन्य उत्पादनहरू तुलनात्मक रूपमा कम भएका छन् । पछिल्लो समय कोरोनाको प्रभाव कम भएसँगै उत्पादनले पुनः लय पक्रिने अवस्थामा भने हामी पुग्न लागेका छौं ।
औषधि उत्पादन तथा विक्रीको अवस्थालाई दृष्टिगत गर्दा एसियन फर्मास्युटिकल्स कम्पनी कत्तिको अब्बल कम्पनी हो ?
औषधि उत्पादनको कुरा गर्नुहुन्छ भने कतिपय औषधि नेपालमै पहिलोपटक उत्पादन गर्ने कम्पनी एसियन फर्मा हो । जस्तो हामीले नेपालमै पहिलोपटक मानसिक रोगको औषधि उत्पादन गरेर बजारमा पठाएका छौं । साथै एन्टीबायोटिक्स, ग्यास्ट्रोइन्टेस्टाइनलसम्बन्धीका औषधि, अर्थो, दम, एन्टी–एलर्जी र भिटामिनसम्बन्धी करिब ५० प्रकारका औषधि हामीले उत्पादन तथा विक्री गरिरहेका छौं । त्यस्तै सोलार, एनिमल केयर र नाइसा डिभिजनमार्फत पनि हामीले सयौं प्रकारका औषधि उत्पादन गरिरहेका छौं । त्यसैगरी कार्डियोसम्बन्धी औषधि उत्पादनको तयारी पनि हामी गरिरहेका छौं । उत्पादित औषधिहरूको विक्रीवितरणको अवस्था पनि सामान्यतया सन्तोषजनक नै छ ।
व्यक्तिको जीवन बचाउने सन्दर्भसँग जोडिएको औषधि उत्पादन तथा विक्रीलाई यहाँहरूले नाफामुखी वा सेवामुखी कुन दृष्टिकोणले बढी हेर्नुहुन्छ ?
हामीले हाम्रो कम्पनी खोल्दाका बखत नै सेवामुलक व्यवसाय भनेर शुरू गरेका हुन्छौं, व्यापार वा नाफामुखीका रूपमा होइन । भरसक गुणस्तरयुक्त र प्रभावकारी औषधि उपभोक्ताले प्राप्त गरुन् भन्ने हाम्रो पहिलो चाहना हो । कतिपय औषधि त घाटामा उत्पादन गरेर पनि बजारमा उपलब्ध गराइरहेका छौं । त्यतिमात्र होइन विभिन्न संघ–संस्थाहरूसँगको सहकार्यमा हामीले कतिपय औषधिहरू निःशुल्क वितरणदेखि स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा खर्च समेत गरिरहेका हुन्छौं । त्यसकारण हामीले यो व्यवसायलाई सेवामुलक नै ठानेका छौं । तथापि कुनै पनि व्यवसाय सञ्चालन गरिसकेपछि त्यसले जेनेरेट गर्ने अप्रेटिङ कष्ट मेन्टेन गर्न त फेरि पनि पैसा वा मूल्यका कुरा आउँछन् नै त्यो स्वाभाविक हो भन्ने मलाई लाग्छ ।
हामी अहिले विश्वव्यापी कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं । यो महामारीका बेलामा तपाईंको कम्पनीको भूमिका कस्तो रह्यो ?
पहिलो कुरा त कोरोना माहामारीले कुनै पनि क्षेत्र प्रभावबाहिर रहन सकेन । मानवजातीलाई नै चुनौतीको रूपमा देखा परेको वर्तमान महामारीका बेला देश पूर्ण लकडाउनमा गएको हामी सबैलाई थाहै छ । त्यस्तो अवस्थामा हामीले छुट्टै केही गरिहाल्ने अवस्था शुरूवाती चरणमा रहेन नै । यद्यपि, सरकारको अनुमति लिँदै हामीले दैनिक दुई घण्टा मात्रै भए पनि कम्पनी चलाएर महामारीका बेलामा आवश्यक पर्ने ह्यान्ड स्यानिटाइजरलगायत वस्तुहरू उत्पादन गरेर वितरण ग¥यौं । त्यसअघि हामीलाई ह्याण्ड स्यानिटाइजर उत्पादनको अनुमति थिएन । तत्काल अनुमति लिएर उत्पादन गरी निःशुल्क वितरण ग¥यौं ।
नेपालमा उत्पादन हुने औषधिको गुणस्तर कस्तो छ ?
एसियन फर्मास्युटिकल्सको सबैभन्दा धेरै ध्यान आफ्ना उत्पादनको गुणस्तरमा केन्द्रित छ । यद्यपि, सबै कम्पनीले आ–आफ्नो उत्पादन गुणस्तर जाँच नगरी बजारमा पठाउन पाउँदैनन् । त्यसमाथि हामीले २३ वर्षदेखि ‘गूड म्यानुफ्याक्चरिङ’ लाइसेन्स लिएरै उत्पादन गर्दै आएका छौं । अहिलेसम्म गुणस्तरहीन सामान उत्पादन भयो भनेर कम्पनीले कतै फेस गर्न परेको छैन । मुख्य कुरा के हो भने औषधिको गुणस्तरमा कम्प्रोमाइज गर्नै मिल्दैन नि !
औषधि उत्पादनमा नेपाल कत्तिको आत्मनिर्भर छ ?
धेरैजसो औषधि नेपालमा उत्पादन हुने गरेको भए पनि सबै औषधि यहाँ उत्पादन हुँदैन । त्यसकारण अहिले नै आत्मनिर्भर छौं वा बन्दैछौं भन्नु त्यति राम्रो मलाईचाहिँ लाग्दैन । तर, सरकारले औषधि उत्पादक कम्पनीलाई प्रोत्साहन गर्ने वा आफै उत्पादन गर्ने दिशामा अगाडि बढ्दा आत्मनिर्भर हाम्रा लागि त्यति टाढाको कुरा पनि होइन ।
औषधिमा आत्मनिर्भर हुन के–के गर्नु पर्छ ?
यसका लागि औषधि उत्पादक कम्पनी र सरकारबीच समन्वय र सहकार्य हुन जरुरी देख्छु म । किनभने सरकारले निजी क्षेत्रलाई जति धेरै अगाडि बढाउन सक्छ त्यत्तिकै हामी आत्मनिर्भर बन्दै जाने हो । यो विषय केवल औषधि उत्पादनको क्षेत्रमा मात्रै नभइ सबै क्षेत्रमा लागू हुन्छजस्तो मलाई लाग्छ । हरेक क्षेत्रको विकास र वृद्धिमा सरकार एक्लै वा निजी क्षेत्र एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन । त्यसका लागि सरकार र निजी क्षेत्र दुवैको सहकार्य जरुरी देख्छु ।
औषधि व्यवस्था विभागको भूमिका के–कस्तो छ ?
त्यसका आफ्नै बाध्यताहरू होलान् । तर पनि उसले आफ्नो भूमिका राम्रोसँग नै निर्वाह गरेको देखिन्छ । विभाग नियामक निकाय समेत भएका कारण हाम्रा लागि प्रोत्साहन मिलिरहेको छ । असहज वातावरण उसले बनाएको छैन, राम्रै छ ।
उपभोक्ताले औषधिको गुणस्तर कसरी थाहा पाउन सक्छन् ?
मुख्य कुरा त गुणस्तरहीन औषधि बजारमा पठाइएकै हुँदैन । तथापि औषधिको गुणस्तर सामान्यतया सबैले थाहा नपाउन पनि सक्छन् । तर, औषधि सिफारिस गर्ने डाक्टरहरू यसबाट पूर्ण जानकार हुन्छन् । उनीहरूले आफ्ना विरामीका लागि गुणस्तरयुक्त औषधि नै सिफारिस गर्दछन् । त्यसकारण कोही पनि उपभोक्ता गुणस्तरहीन औषधि प्रयोग पो गरिरहेको छु कि भन्ने चिन्ता र भ्रमबाट मुक्त हुन जरुरी छ । डाक्टरले सिफारिस गर्नुभएकै औषधि किनेर सेवन गर्न म सबैलाई सुझाव दिन पनि चाहान्छु । कहिलेकाहीँ फार्मेसीहरूले ठ्याक्कै यही चाहिँ छैन, यस्तै अर्को छ भनेर विक्री गरिरहेका हुन्छन् त्यस कुरामा हामी सचेत बन्नु पर्छ ।
दाल–चामल किनेजस्तो मूल्य सोधेर औषधि किनिंदैन, कुन औषधिको मूल्य कति पर्छ पनि थाहा हुँदैन । यस्तो अवस्थामा औषधि खरीद गर्दा उपभोक्ता ठगिने सम्भावना कत्तिको हुन्छ ?
कुनै पनि औषधिमा उपभोक्ता ठगिने सम्भावना छैन । हरेक औषधिमा उत्पादन मिति, प्रयोग गर्ने अवधि र खुद्रा विक्री मूल्य स्पष्टसँग लेखिएका हुन्छन् । तोकिएको मूल्यभन्दा कसैले बढी लिइरहेका छन् भने कोही मान्छे ठगिन पनि सक्दछन् अन्यथा सहजै ठगिने अवस्था छैन ।
FACEBOOK COMMENTS