काठमाडौं, फागुन १० – आइतबारको सेयर बजारमा कूल ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकाे छ । सो दिन कूल २०७ कम्पनीको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर पौने ९ अर्ब रुपैयाँ बढीमा किनबेच भएको हो ।
जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ६१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हाे । साे दिन बैंककाे अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको छ । जुन अघिल्लाे दिनकाे तुलनामा प्रतिकित्ता २१ रूपैयाँ अर्थात ४.७८ प्रतिशतले बढी हाे ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) रहेको छ । बैंकको एकैदिन ५५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबारको नेप्से परिसूचक सामान्य अंकले बढेर २६४०.३५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३.६६ अंकले बढी हो ।
आइतबारको बजारमा सूचीकृत विभिन्न ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये २ हाइड्रोको मूल्यमा सर्किट लागेको छ भने बाँकीको साढे ९ प्रतिशत बढी अर्थात सर्किट लेभलमा किनबेच भएको हो ।
आइतबार कारोबार खुलेको २ घण्टाको अवधिमै अपर तामाकोशी हाइड्रोपावर र शिवश्री हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । जसमध्ये अपर तामाकोशीको सेयर मूल्य बढेर प्रतिकित्ता ५३९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ४९ रुपैयाँले बढी हो । आइतबार कम्पनीको कूल २२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।
FACEBOOK COMMENTS