काठमाडौँ – सूर्य नेपाल प्रालिले कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग पुर्याउन ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
१ करोड रुपैयाँका दरले सातै प्रदेशलाई सहयोग गर्ने सूर्य नेपालले जनाएको हो । कम्पनीका भाइस प्रेसिडेन्ट रवि केसीले घोषणा गरिएको एक–एक करोड रुपैयाँ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरे ।
कम्पनीको तनहुँ कारखानाका प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूलाई छिट्टै सहायता रकम हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त रकम सातै प्रदेशले स्थापना गरेका कोरोना कोषमा जम्मा हुने गरी सहयोग गरेको हो । आर्थिक सहयोगले कोरोनाविरुद्ध लड्न हरेक प्रदेशलाई प्रेरणा र ऊर्जा मिल्ने कम्पनीको विश्वास छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक प्रकोपलाई प्राथमिकतामा राखी बारा, पर्सा र तनहुँका नगरपालिका तथा विभिन्न वडामा सहयोग पनि प्रदान गरेको थियो ।
FACEBOOK COMMENTS