काठमाडौं । कैलालीमा मरेको कुखुराको मासु खाँदा नाबालक दाजुभाइको मृत्यु भएको छ । आमा र भाइ बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चुरे गाउँपालिका– ३, भक्तपुरकी राधिका ताम्राकारका आठ वर्षीय छोरा भीम र पाँच वर्षीय छोरा दीपक ताम्राकारको मृत्यु भएको हो ।
‘३ गते मरेको कुखुराको मासु खाएर परिवार नै बिरामी भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले भने, ‘४ गते मात्रै प्रहरीलाई खबर भयो । उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाइएकोमा भीम र दीपकको मृत्यु भएको छ ।’
मरेको कुखुराकै मासु खाएका राधिका र उनका कान्छा तीन वर्षीय छोरा दीपेश पनि बिरामी परेका छन् । उनीहरू दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर विष्टले बताए । उनीहरूको अवस्था मध्यम छ ।
घटनापछि कुखुरा फार्मका सञ्चालक मंगल साउद आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका थिए । उनलाई बोलाएको बेला उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको छ ।
