काठमाडौं । कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका छन् ।
गोदावरी नगरपालिका–४ की धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरसम्म पुर्याउँदै खसालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
धनादेवीले बासपानी क्षेत्रमा सडक छेउमा खुद्रा सामान बिक्री गर्न टेम्पो प्रयोग गर्दै आउनुभएको थियो । टेम्पोको सामान झारेपछि घर लैजान्छु भन्दा कर्मचारीले नमानेर सडकबाट धकेलिदिएको उनको गुनासो छ ।
तर डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले पटक–पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेलाधकेलको अवस्था आएको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे छानबिन भइरहेको जनाएको छ । डिभिजन वन कार्यालयले अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरेको छ । अहिलेसम्म भिमदत्त राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका ४७ कच्ची तथा पक्की संरचना भत्काएको ठाकुरले बताए ।

भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाइएको र वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाइएको बताए ।
अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका १० वटै सब–डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी झण्डै २०० जना परिचालन गरिएको थियो ।

यसअघि पनि अत्तरिया आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलालीअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो ।